Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम गोल्डकपमा एनआरटी तेश्रो पटक फाइनल प्रवेश

इलाम गोल्डकपमा एनआरटी तेश्रो पटक फाइनल प्रवेश

  • सन्देश सम्वाददाता
  • बिहिबार, बैशाख १० २०८३


इलाम गोल्डकपमा एनआरटी तेश्रो पटक फाइनल प्रवेश

इलाम । न्यूरोड टिम (एनआरटी) लगातार तेश्रो पटक इलाम गोल्डकपको फाइनल प्रवेश गरेको छ । रोलिङ क्लब धुलाबारीलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै एनआरटीले उपाधिको लागि मछिन्द्र क्लबलाई प्रतिद्धन्द्धीको रुपमा पाएको हो ।

पहिलो संस्करणमा घरेलु टिम रेडहर्सलाई हराएको एनआरटीले दोश्रो संस्करणमा रेडस्टार झापालाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । निर्धारित ९० मिनेटमा १–१ गोल बराबरी भएको थियो । सुरुवाती अग्रता बनाएको एनआरटीले अन्तिम १० मिनेट सम्हालिन नसक्दा गोल व्यहोर्न पुगेको थियो ।

पहिलो हाफको अतिरिक्त समयमा एनआरटीका लक्षु थापा मगरले दिएको लङ रेञ्ज असिस्टलाई विज्ञान खड्काले लो क्रस प्रहार गर्दै सुन्दर गोल गरे । खेलको ८२औं मिनेटमा रोलिङका फागुराम चौधरीले बराबरी गोल गरेका थिए ।

लङ क्रसमा आएको बललाई प्रशान्त लक्समले हेडरमा मिलाइदिएको अवसरलाई फागुरामले जाली चुमाएका हुन् । टाइब्रेकरमा एनआटीका टिम कप्तान आशिष गुरुङ, सनम  सदेम्बा लिम्बु, आदित्य शाक्य र शिशिर लेखीले गोल गरे । एनआरटीका विज्ञान खड्काले प्रहार गरेको गोल गोलपोष्ट भन्दा माथिबाट बाहिरिएको थियो ।

रोलिङ क्लबका लागि पुजन थापा, प्रतापसिंह राई र निङ्मा घिसिङले गोल गरे । रोलिङका रामबहादुर शाहको प्रहारलाई एनआरटीका विशाल सुनारले उत्कृष्ट बचाउ गरे । टाइब्रेकरमा गोलको बचाउ गर्न सफल भएका एनआरटीका गोलरक्षक विशाल सुनार ‘म्यान अफ द म्याच’ घोषित हुँदै नगद ८ हजार १ सय प्राप्त गरे ।

रेड हर्स फुटबल क्लब इलामले आयोजना गरेको इलाम गोल्डकपको उपाधि विजेताले रु १० लाख र उपविजेताले रु ५ लाख नगद प्राप्त गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार