इलाम । आदित्य शाक्यको निर्णायक गोलसंगै चित्लाङ एफसीलाई हराउँदै डिफेन्डिङ च्याम्पियन न्यूरोड टिम एनआरटी तेश्रो इलाम गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । एनआरटीको जितसंगै सेमिफाइनल समिकरण पुरा भएको छ । एनआरटीको १–० को जितसंगै सेमिफाइनल भिड्ने टिम पक्का भएको हो ।
खेलको १८ औ मिनेटमा पाएको फ्रिकिकलाई गोलमा परिणत गर्दै शाक्यले एनआरटीलाई अन्तिम ४ मा प्रवेश गराएका हुन् । विज्ञान खड्कालाई चेतन कुमार थारुले फाउल गरेपछि पाएको अवसरलाई आदित्यले सिधै जाली चुमाए । दुवै टिमले केही अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।
तेश्रो मिनेटमा नै सोलोमनले गरेको प्रहारलाई एनआरटीका गोलरक्षक विशाल सुनारले बचाएका थिए । ३३ औ मिनेटमा एनआरटीका विज्ञान खड्काको प्रहारलाई चित्लाङका गोलरक्षक चन्द्र सुन्दर श्रेष्ठले बचाएका थिए । खेलको म्यान अफ दि म्याच गोलकर्ता शाक्य घोषित हुँदै नगद ८ हजार १ सय प्राप्त गरे ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बुधबार मछिन्द्र एफसी र पथरी–११ भिड्दैछन् । मछिन्द्रले एन पेनाङ मलेसिया र पथरीले घरेलु टिम रेडहर्स एफसीलाई टाइब्रेकरमा हराउँदै अन्तिम ४ मा स्थान सुरक्षित गरेका हुन् । दोश्रो सेमिफाइनल खेलमा एनआरटीले रोलिङ क्लब धुलाबारीसंग प्रतिस्पर्धा गर्नेछ ।