इलाम — सूर्योदय निर्माण व्यवसायी संघ इलामले निर्माण क्षेत्रका समस्या समाधानका लागि सरकारलाई ४८ बुँदे अल्टिमेटम दिएको छ। संघले विहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै निर्माण सामग्रीको अभाव, मूल्यवृद्धि र भुक्तानी ढिलाइका कारण निर्माण व्यवसायीहरू गम्भीर संकटमा परेको जनाएको हो। संघले ४८ घण्टाभित्र माग सम्बोधन नभए कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ। निर्माण क्षेत्रलाई बचाउन तत्काल ठोस कदम चाल्न सरकारसँग आग्रह गर्दै संघले आवश्यक परे देशव्यापी आन्दोलनमा उत्रिने जनाएको छ।
सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकिय विज्ञान कोइराललाई व्यवसायीले बुझाएको विज्ञप्तिमा निर्माण क्षेत्रसँग सम्बन्धित नीतिगत अस्पष्टता हटाउन, लागतअनुसार मूल्य समायोजन गर्न, निर्माण सामग्रीको सहज आपूर्ति सुनिश्चित गर्न तथा व्यवसायीहरूको समस्या समाधानका लागि प्रभावकारी संयन्त्र गठन गर्न माग गरिएको छ। संघका अनुसार पछिल्लो समय इन्धन, निर्माण सामग्री तथा श्रमिक लागत निरन्तर बढ्दै जाँदा ठेक्का अनुसारका काम सम्पन्न गर्न कठिन भएको छ। यसले निर्माण व्यवसायी मात्र नभई समग्र आयोजना नै प्रभावित भइरहेको बताइएको छ।
संघले मूल्य समायोजन (प्राइस इस्केलेसन) स्पष्ट रूपमा लागू गर्न, समयमै भुक्तानी सुनिश्चित गर्न र आवश्यक सहजीकरणका लागि सरकारसँग माग गरेको छ। संघका महासचिव विक्रम श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तिमा निर्माण व्यवसायीहरूको समस्या समाधानमा ढिलाइ भए विकास निर्माणका कामहरू ठप्प हुने र त्यसको असर समग्र अर्थतन्त्रमा पर्ने उल्लेख गरिएको छ।
