इलाम । दर्शकहरुले धानेको देशका सिमित प्रतियोगिता मध्येमा पर्छ इलामको टुडिखेलमा आयोजना हुने फुटबल प्रतियोगिता । इलाममा फुटबल केवल खेल मात्र होइन, भावनासँग जोडिएको उत्सव रुपमा लिइन्छ । मैदानमा खेलाडीहरू जति महत्वपूर्ण छन्, त्यती नै भुमिका दर्शकको पनि छ ।
दर्शककै उपस्थितिले इलामले फुटबलको साखलाई जोगाइराखेको छ भन्ने तर्क बलियो देखिन्छ । इलाम गोल्डकप तेश्रो संस्करणको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा एन्फाका पूर्व केन्द्रीय सदस्य निरोज खड्गीले इलामको फुटबल जिवन्त राख्न दर्शक बलियो माध्यमको रुपमा व्याख्या गरिरहेका थिए ।
इलामको फुटबल भनेपछि हर कोहीको मानस्पटलमा हजारौ दर्शकहरु आउँने गर्छन् । २०७१ सालबाट २०७६ सम्म संचालन भएको माईभ्याली गोल्डकपले इलामको फुटबल दर्शकले जोगाइदिएको हो भन्ने मानक स्थापित गरिदिएको थियो । त्यो समय खेल पूर्वाधार सीमित थियो, क्लबहरूको आर्थिक अवस्था कमजोर थियो तर मैदान वरिपरि उभिएका हजारौं दर्शकहरूले त्यो अभावलाई कहिल्यै महसुस हुन दिएनन् ।
सुविधा सम्पन्न रंगशालामा आयोजना हुने प्रतियोगिताका आयोजकहरु दर्शक पखिरहँदा बाँसको पारापिटले सजिएको इलामको टुडिखेलमा फुटबलको माहोल सुरु भएपछि दर्शकहरूको भीडले एउटा सन्देश दिन्छ “फुटबल इलाममा जीवित छ ।”
पूर्व खेलाडी तथा एन्फाका पूर्व केन्द्रीय सदस्य निरोज खड्गीका अनुसार इलामको पहिचान मैदान, पूर्वाधार वा प्रतियोगिताले मात्रै नभएर दर्शकको संस्कारले बनेको हो । “इलामले फुटबलमार्फत खेल पर्यटनलाई प्राथमिकता दिएको छ । यहाँको वातावरण, माया र सम्मानले जो–कोही खेलाडीलाई आकर्षित गर्छ,” खड्गी भन्छन् “पूर्वाधार सीमित होला, मैदान अन्तर्राष्ट्रिय स्तरको नहोला, तर यहाँका दर्शक विश्वस्तरका छन् । त्यही कारणले राष्ट्रिय स्तरका खेलहरू पनि इलाम आउन चाहन्छन् ।”
२०५० ताका हुने भूकम्प पिडित स्मृति कप देखि आजको इलाम गोल्डकप सम्मको यात्रा सम्झँदै खड्गी भन्छन् ‘समय बदलियो, प्रतियोगिता बदलियो, तर दर्शकको अनुशासन कहिल्यै बदलिएन् ।’ खड्गीकै भनाईसंग मिल्दो जुल्दो तर्क राख्छन् नेपाली राष्ट्रिय टिम एवम त्रिभुवन आर्मीका पूर्व कप्तान भरत खवास “ सबैभन्दा पहिला त इलामका दर्शकहरुको खुब याद आइरहेको छ । यहाँ दर्शकहरू यति सभ्य छन् की मैदानमा उत्रिदाँ हामी सुरक्षित ठान्थ्यौ । आज पनि इलामको दर्शक उस्तै नै छन् होला । आफ्नो टिममात्र हैन् विपक्षी टिम प्रति पनि उतिकै सदभाव राख्छन् ”
उनी भन्छन्, “कुनै पनि खेलाडीलाई दुःख दिने, दुव्र्यवहार गर्ने प्रवृति इलामका पाएको छैन् । ५÷६ बर्ष इलामको मैदानमा खेल्दा अनुशासित दर्शकको व्यवहार आज पनि उतिकै सम्झनामा छ ।” उनीले इलामका दर्शकलाई नेपालकै सबैभन्दा अनुशासित मान्छन् ।

माईभ्याली गोल्डकप
मैदान भित्र टिकट किनेर मात्र होइन, कतिपयले घरको छत र महेन्द्ररत्न बहुमुखी क्याम्पसबाट टिकटको मुल्य तिरेर हेरेको दृश्य आज पनि इलामेहरुको मानसपटलमा घुमिरहन्छ । इलामको फुटबल आयोजना विगत र वर्तमान समेत कहिलै सजिलो थिएन् । बजेट अभाव, प्रायोजनको कमी र मौसमको चुनौतीबीच प्रतियोगिता सञ्चालन हुँदै आएको छ । तर आयोजकहरूको भनाइमा एउटा कुरा सधैं स्थिर रह्यो ‘दर्शकको साथ’ । दर्शकको भीडले मात्र मैदान भरिदैन्, त्यही भीडले टिकट बिक्रीमार्फत आर्थिक आधार पनि दिएको छ ।
पहिलो संस्करणको इलाम गोल्डकपमा आयोजकले २२ लाख रुपैया नाफा कमाउँदा गेटमनीबाट २० लाख भन्दा बढि आम्दानी गरेका थिए । दोश्रो संस्करणमा प्रि–टिकटबाट २ लाख ८० हजार र गेटमनीबाट १८ लाख ६३ हजार संकलन भएको थियो । हरेक पटक प्रतियोगिता घाटामा जानबाट जोगिएको मुख्य कारण नै दर्शक थिए । देशका अन्य गोल्डकपहरु दर्शक नपाएर घाटामा गइरहँदा इलामको प्रतियोगिता कहिले घाटामा गएनन् ।
कोभिड संक्रमणपछि थलिएको माईभ्याली गोल्डकप फेरी पुर्नजिवित हुन सकेन् । त्यसपछि रेडहर्स फुटबल क्लब जुरमुराएर इलाम गोल्डकप सुरु भयो, जसले माईभ्याली गोल्डकपको दर्शकहरुलाई स्थायित्व प्रदान गर्दै आएको छ । अहिले खेल स्तर, सहभागी टिम र व्यवस्थापनमा सुधार आएको छ । तर एउटा कुरा उस्तै छ—दर्शकको क्रेज । इलाम गोल्डकपका खेलहरूमा गाउँगाउँबाट गाडी रिर्जभ गरेर दर्शकहरु खेल हेर्न आउँछन् । स्थानीय युवा, वृद्ध, विद्यार्थीदेखि महिलासम्मको सहभागिता उल्लेखनीय छ ।

इलाम गोल्डकपका दर्शक
खेलको हरेक पास, हरेक गोलमा दर्शकको उत्साहले मैदानलाई जीवन्त बनाउँछ । इलाममा दर्शक केवल हेर्ने मात्र होइनन्, उनीहरू खेलको हिस्सा जस्तै हुन्छन् । क्लबप्रति समर्थन, खेलाडीप्रति सम्मान र हार–जितमा भावनात्मक संलग्नता—यी सबैले यहाँ फुटबल संस्कृतिको विकास गरेको छ । दर्शकहरुको अपार माया पाएपनि पूर्वाधार अभावका कारण इलामको फुटबल सोचे जस्तो सजिलो छैन् ।
इलामको मुटुमा रहेको टुडिखेलमा नेपाली सेनाको स्वामित्व छ । जसकारण स्थायी संरचना बनाउन सकिएको छैन् । हरेक बर्ष लाखौ खर्च गरेर दर्शकहरुको सहजताको लागि बाँसको पारापिट बनाइने गरिन्छ । विदेशमा रहेका इलामेहरुले आफ्नो गाँस कटाएर भएपनि इलामको फुटबल जोगाउन निरन्तर लागिरहन्छन् । हिजो माईभ्याली गोल्डकप होस वा वर्तमानको इलाम गोल्डकप विदेशमा रहेका इलामेहरुले धक फुकाएर सहयोग दिइरहेका छन् ।
इलाम गोल्डकपको सुरुवातबाटै नै गैर आवासीय नेपाली (एनआरएनए) ले मुख्य प्रायोजकको रुपमा आफ्नो भुमिका निर्वाह गरिरहेको छ । विदेशमा रहेका नेपालीहरुको सहयोगका कारण विगत होस या वर्तमान इलामको फुटबल फरक फरक नाम र प्रतियोगिताबाट चलिरहेको छ ।