ताप्लेजुङ । रेडहर्स क्लब इलामलाई पराजित गर्दै रेड स्टार क्लव झापा ताप्लेजुङमा जारी तेस्रो पाथिभरा गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न प्रतिस्पर्धामा रेडहर्सलाई २–१ गोलअन्तरले पराजित गर्दै झापा अन्तिम चारमा पुगेको हो ।
सदरमुकाम फुङ्लिङ्स्थित भानु जनमाविको खेल मैदानमा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा झापाले विदेशी खेलाडी मार्टिन्स र ग्लोरीको गोलको मद्धतले अन्तिम चारमा स्थान सुरक्षित ग¥यो । इलामका तर्फबाट इन्जूअरी समयमा संजय धिमालले सान्त्वना गोल गरे ।
खेलको म्यान अफ दि म्याच झापाका विवेक पौडेल घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे । सोमबार न्यू स्टार क्लब झापा र कर्णसिंह सोनाम क्लब ताप्लेजुङबीच खेल हुने आयोजकले जनाएको छ ।
१० टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले तीन लाख १ हजार १ सय ११ र उपविजेताले एक लाख ५१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल आगामी भदौ १६ गते हुनेछ ।