इलाम — सन्दकपुर गाउँपालिका–४ स्थित कालपोखरीमा तेश्रो रेडपाण्डा महोत्सव सुरु भएको छ। सन्दकपुर गाउँपालिकाको आयोजनामा सुरु भएको महोत्सव आगामी चैत्र २३ गतेसम्म सञ्चालन हुनेछ।गाउँपालिका अध्यक्ष तुलाराम गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुली प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख जय प्रकाश राई विशेष अतिथिको रुपमा सहभागी भएका थिए।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पराजुलीले नेपालमा करिब ५ सयको संख्यामा रेडपाण्डा रहेको जानकारी दिँदै यसको संरक्षणलाई संघ, प्रदेश र स्थानीय सरकारको महत्वपूर्ण दायित्व रहेको बताए। संसारबाटै लोप हुने जोखिममा रहेको रेडपाण्डाको संरक्षणका लागि तीनै तहका सरकारसँगै विभिन्न अभियन्ता पनि सक्रिय रूपमा लागिरहेको उनले उल्लेख गरे।
कोशी प्रदेशमा रेडपाण्डा संरक्षणलाई अझ प्रभावकारी बनाउने तथा यससँग सम्बन्धित चुनौती र भएका कामहरूको बारेमा समेत छलफल भइरहेको उनले बताए। महोत्सवबाट आउने निष्कर्षलाई मन्त्रालयले सकारात्मक रूपमा सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे। कार्यक्रममा रेडपाण्डा महोत्सव आयोजक समिति संयोजक तथा सन्दकपुर गाउँपालिका–२ का वडाध्यक्ष सनम राईले स्वागत मन्तव्य राखेका थिए।

उद्घाटन कार्यक्रममा मन्त्री पराजुली, जिसस प्रमुख जय प्रकाश राई, पर्यटन मञ्च झापाका अध्यक्ष उदय श्रेष्ठ, आसमा प्रकृति संरक्षक सौम्यदिप दत्त, सिक्किम पर्यटन विभागकी सद्भावना दूत तथा अभिनेत्री श्यामा शेर्पा, केचना–कञ्चनजंघा पर्यटन विकास समिति इलामका अध्यक्ष नरेन्द्र बुढाथोकी तथा एसिटी भारतकी उपाध्यक्ष गिताली लहरी लगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बुले गरेका थिए।
महोत्सवको पहिलो दिन उद्घाटनसँगै सन्दकपुरमा रेडपाण्डा पर्यटनको सम्भावना विषयमा प्यानल डिस्कसन समेत आयोजना गरिएको थियो। सुजन तिम्सिनाले सञ्चालन गरेको उक्त छलफलमा सन्दकपुर गाउँपालिकाका उपाध्यक्ष हरि बहादुर लुङ्गेली, चलचित्रकर्मी केवल तामाङ, केचना–कञ्चनजंघा पर्यटन विकास समितिका पूर्व कार्यकारी निर्देशक केशव द्यौराली तथा पर्यटन कार्यालय काँकडभिट्टाका अधिकृत निरोज कट्टेल, रेडपाण्डा प्रर्वद्धक साइबा राणा, प्रकृति संरक्षक विश्वजित शाह सहभागी भएका थिए। कार्यक्रममा मगर समुदायको हुर्रा, राई समुदायको साकेला र शेर्पा समुदायको झाँकी प्रस्तुत गरिएको थियो ।
महोत्सवमार्फत रेडपाण्डा संरक्षण, जैविक विविधता तथा सन्दकपुर क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रममा नेपाल र भारतका पर्यटनकर्मी, संरक्षणकर्मी, पत्रकार एवम चलचित्रकर्मीहरुको सहभागिता रहेको छ ।