Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रथम सूर्योदय कृषि प्रदर्शनी तथा मेला सम्पन्न

प्रथम सूर्योदय कृषि प्रदर्शनी तथा मेला सम्पन्न

  • सन्देश सम्वाददाता
  • शनिबार, चैत्र १४ २०८२


प्रथम सूर्योदय कृषि प्रदर्शनी तथा मेला सम्पन्न

फिक्कल । इलामको सूर्योदय नगरपालिकामा आयोजित प्रथम सूर्योदय कृषि प्रदर्शनी तथा मेला विजेता किसानहरूको उत्साहजनक उपस्थितिसँगै सफलतापूर्वक सम्पन्न भएको छ। मेलाले कृषिमा सक्रिय किसानहरूको मेहनतलाई सम्मान गर्दै विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई पुरस्कृत गरेको छ ।

गाई विधामा किसान दिलिप प्रधानको गाई उत्कृष्ट घोषित हुँदै नगद २० हजारसहित प्रथम स्थान हासिल ग¥यो । यसैगरी एमएनएस कृषि फर्म दोस्रो हुँदै १५ हजार रुपैयाँ प्राप्त गर्न सफल भयो भने रमेश गडतौला तेस्रो स्थानमा रहँदै ८ हजार रुपैयाँ पुरस्कार जित्न सफल भए। भेडा–बाख्रा विधामा पुण्यप्रसाद अधिकारी, यामबहादुर कार्की र प्रतीक्षा तामाङ क्रमशः प्रथम, द्वितीय र तृतीय हुँदै ८ हजार, ५ हजार र १ हजार रुपैयाँ प्राप्त गरे।

पशुपंक्षी (कुखुरा) तर्फ सुजन राई, गोविन्द तामाङ र हर्क फागोका कुखुराले उत्कृष्टता देखाउँदै क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैयाँ जिते। त्यस्तै सागसब्जी प्रदर्शनीमा आस्था गुरुङ, कमल पराजुली र टिका कुमारी गौतम क्रमशः प्रथम, द्वितीय र तृतीय हुँदै ५ हजार, ३ हजार र १ हजार रुपैयाँबाट पुरस्कृत भए। अर्किडतर्फ सावित्री देवी राई, रीता लेप्चा र मालती राईले उत्कृष्टता देखाउँदै १० हजार, ५ हजार र १ हजार रुपैयाँ प्राप्त गरे।

सिजनल फूलतर्फ अन्स नर्सरी, हाउस मुना ढकाल र एन्जेलिया पुष्प नर्सरी क्रमशः प्रथम, द्वितीय र तृतीय हुँदै ५ हजार, ३ हजार र १ हजार रुपैयाँ जित्न सफल भए । सूर्योदय नगरपालिका वडा नं १० को बार्षिक कार्यक्रम अन्तर्गत भएको मेलामा किसानहरुले आफूले पालेको गाई बाख्रा भेडा कुखुरा तथा उत्पादन गरेको सागसब्जी फलफूल प्रदर्शनमा राखेका थिए । साथै सूर्योदय नगरपालिकाका विभिन्न क्षेत्रमा स्थापना गरिएको व्यवसायिक फूल नर्सरीले आफ्ना उत्पादनको स्टल पनि राखेका थिए ।

यसरी नगरले विशेष प्रकारको कार्यक्रम राखेर किसानलाई प्रोत्साहन प्रदान गरेको भन्दै किसान हर्षित भएका छन् ।
सूर्योदय नगरपालिकाका कार्यबहाक नगर प्रमुख दुर्गाकुमार बरालले सूर्योदय नगरपालिका क्षेत्रमा रहेका किसानहरूलाई आफ्नो पेशाप्रति आत्मविश्वास जगाउन तथा प्रोत्साहन गर्न यो कार्यक्रम गरिएको र आगामी दिनमा कृषि तथा किसानमुखी कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेर नगरपालिका अगाडि बढ्ने बताए ।

सूर्योदय नगरपालिका वडा नं १० का वडाध्यक्ष पेमा उगेन लामाले यस वर्ष वडा नं १० को वार्षिक कार्यक्रम अन्तर्गत कार्यक्रम गरिएको भएपनि आगामी वर्षहरूमा नगरकै कार्यक्रममा समेटेर अझ बृहत रुपमा यो कार्यक्रम गर्ने बताए । कार्यक्रममा सहभागी किसानहरूको प्रदर्शनी तथा  देखिएको उत्साहले कृषि पेशामा आत्मनिर्भर बन्न किसानहरू लागि रहेको आफूले महसुस गरेको बताउँदै किसानहरूमा आत्मविश्वास बढाउन तथा गुनासो र अप्ठ्याराहरु सुन्दै त्यसको समाधानको बाटो खोज्न कृषि मेला तथा प्रदर्शनी कोसेढुंगा साबित भएको उल्लेख गरे ।

करिव २ लाख पर्ने गाई प्रदर्शनीमा ल्याएर बिजेता बनेका किसान दिलिप प्रधानले नगरमै पहिलोपटक यस्तो बृहत कृषि मेला लागेको र आफ्नो कृषि उत्पादन तथा पशु पक्षि प्रदर्शनमा ल्याउन पाउदा निक्कै खुशी लागेको बताए । उनले कृषि पेशमा आत्मनिर्भर बन्न र कृषिकर्म प्रति सम्मान बढाउन यस्तो मेलाले सबैलाई प्रत्साहन दिने यहि देशमा केही गर्नुपर्छ भन्ने भावनाको विकास गर्ने भएकोले मेला आगामी बर्षमा पनि जारी रहनु पर्नेमा जोड दिए ।

फूल नर्सरीको स्टल राखेकी ज्योति नर्सरीकी संचालक सावित्री देवी राईले फूल नर्सरीबाट व्यवसायिक बन्न र जिविकोपार्जन गर्न सकिने र यस्तो सकरात्मक सन्देश सबैमाझ पुराउन यो प्रदर्शनीले मद्धत पुग्ने बताइन् । किसान दिनेश गडतौलाले निक्कै राम्रो सोचका साथ गरिएको प्रदर्शनी तथा कृषि मेला आयोजना गरिएको भन्दै वडा नगर परिवारलाई धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार