फाकफोकथुम । फाकफोकथुम गाउँपालिकामा नेपाल बिजुली, प्लम्बर तथा मजदुर युनियन (क्यूपेक) को दोस्रो अधिवेशनले पदम बहादुर बागदाषको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ। नवगठित समितिको उपाध्यक्षमा गणेश बहादुर खड्का, सचिवमा तुलसी गिरी, सहसचिवमा डिल्ली राम मुखिया र कोषाध्यक्षमा गीता राई चयन भएका छन्।
यसैगरी सदस्यहरूमा चनमाया तामाङ, इन्दिरा बराइली, लिलाराज गजमेर, भेषराज पराजुली, गंगा बहादुर खड्का र चन्द्रप्रसाद राई सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।
त्यसैगरी, सल्लाहकार समितिमा पर्शुराम मगर, गणेश कुमार मगर र मनमाया कामी चयन भएका छन्। निर्वाचन मण्डलका सदस्य गजेन्द्र लिम्बुले नतिजा घोषणा गरेका थिए।अधिवेशन क्युपेकका केन्द्रीय सदस्य देव कुमार राईको प्रमुख आतिथ्यता तथा गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालको विशेष आतिथ्यमा सम्पन्न भएको हो।
अधिवेशनकै क्रममा निर्वाचन मण्डलका अध्यक्षसमेत रहेका केन्द्रीय सदस्य देव कुमार राईले क्यूपेकको विधानअनुसार नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए।
नवनिर्वाचित अध्यक्ष पदम बहादुर बागदाषले अधिवेशन सम्पन्न गर्न फाकफोकथुम गाउँपालिकाले आर्थिक सहयोग प्रदान गरेको जानकारी दिए। उनले आगामी दिनमा मजदुरहरूको हकहित र पेशागत सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध भएर काम गर्ने बताएका छन्।