इलाम । पूर्वी पहाडी जिल्ला इलामका चिया बगानमा यस वर्षको पहिलो चिया टिपाइ सुरु भएको छ। ‘फस्ट फ्लस’ भनेर चिनिने यो प्रारम्भिक टिपाइलाई चिया उत्पादनको सबैभन्दा महत्वपूर्ण चरणका रूपमा लिने गरिन्छ, किनकि यसै समयमा टिपिएका कोमल पातबाट उच्च गुणस्तरको चिया उत्पादन हुने गर्दछ।
फागुनको अन्तिम सातादेखि सुरु भएको पहिलो टिपाइले चिया किसान र उद्योगीहरूलाई वार्षिक आम्दानीको आधार तय गर्ने विश्वास गरिएको छ। चिया व्यवसायी जीवन पाण्डेका अनुसार पहिलो टिपाइबाट उत्पादन हुने चिया गुणस्तरीय हुने भएकाले यसको अन्तरराष्ट्रिय बजारमा माग पनि उल्लेख्य हुन्छ। “पहिलो टिपाइमा विशेष सावधानी अपनाएर कोमल पात मात्रै सङ्कलन गरिन्छ, जसले चियाको स्वाद र गुणस्तरलाई उत्कृष्ट बनाउँछ,” उनले बताए।
इलामका चिया उद्योगी शरद सुब्बाले यस वर्ष जिल्लाको दक्षिणी क्षेत्रबाट टिपाइ सुरु भएको जानकारी दिए। उनका अनुसार इलामको सोयाक क्षेत्रस्थित चिया बगानमा पहिलो टिपाइ सुरु भइसकेको छ। “पहिलो टिपाइ अत्यन्तै संवेदनशील प्रक्रिया हो। यसलाई सावधानीपूर्वक टिपिन्छ, जसबाट उच्चस्तरको चिया उत्पादन हुन्छ,” उनले भने।
सुब्बाका अनुसार सोयाक बगानमा पहिलो चरणमा करिब अढाइ सय किलो हरियो पत्ती सङ्कलन भइसकेको छ। साथै चिलिमकोट लगायत आसपासका बगानमा पनि क्रमशः चिया टिपाइ सुरु भइसकेको उनले जानकारी दिए। जसबिरेस्थित जसबिरे चिया कारखानाका सञ्चालकसमेत रहेका सुब्बाले यस वर्ष हरियो चिया पत्तीको मूल्य गत वर्षकै हाराहारीमा कायम गरिएको बताए। उनका अनुसार किसानलाई चियाको गुणस्तरअनुसार प्रतिकिलो ६५ रुपैयाँदेखि एक हजार ५०० रुपैयाँसम्म मूल्य प्रदान गरिने व्यवस्था गरिएको छ।
स्थानीय किसानहरूका लागि पहिलो टिपाइलाई वर्षभरिका लागि आशा र उत्साहको सुरुवातका रूपमा हेरिन्छ। सूर्योदय नगरपालिका–१ का चिया किसान जगन्नाथ अधिकारीका अनुसार प्रारम्भिक टिपाइमा उत्पादन हुने चिया उच्च गुणस्तरको हुने भएकाले यसको मूल्य पनि राम्रो पाइन्छ। “पहिलो टिपाइ राम्रो भयो भने किसानको आत्मविश्वास बढ्छ र वर्षभरि उत्पादनमा उत्साह रहन्छ,” उनले भने, “यो किसानका लागि वर्षको सुरुवातमै आउने महत्वपूर्ण आम्दानी हो।”
इलामसँगै पाँचथरस्थित कञ्चनजङ्गा चिया कारखानाले पनि यस वर्षको पहिलो टिपाइको चिया प्रशोधन सुरु गरिसकेको छ। उद्योगीहरूका अनुसार नेपालमा उत्पादन हुने उच्च गुणस्तरको चिया जर्मनी, रुस, अमेरिका लगायत युरोपका विभिन्न मुलुकमा निर्यात हुँदै आएको छ।
इलाममा गोल्डेन टिप, सिल्भर टिप, गोल्डेन ब्ल्याक, गोल्डेन पल तथा ग्रिन टी जस्ता विभिन्न स्वाद र गुणस्तरका चिया उत्पादन हुने गरेका छन्। मेची भन्सार कार्यालय, झापाका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट कुल ८६ लाख ७७ हजार २२१ किलो चिया निर्यात भएको छ। उक्त परिमाणको चियाबाट करिब दुई अर्ब ३२ करोड १२ लाख ५६ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन भएको तथ्याङ्कले देखाएको छ।
कृषि मन्त्रालयको तथ्याङ्कअनुसार इलाम जिल्लामा करिब सात हजार ६०० भन्दा बढी किसानले करिब सात हजार ३०० हेक्टर क्षेत्रफलमा चिया खेती गर्दै आएका छन्। जिल्लामा हाल ३६ वटा ठूला चिया बगान सञ्चालनमा रहेका छन्, जसले स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।