इलाम । सन्दकपुर गाउँपालिका–५ जौबारीका स्थानीयहरू पछिल्लो समय फोहोरमैला व्यवस्थापनमा सचेत र सक्रिय बन्दै गएका छन्। पर्यटन कार्यालय काँकडभिट्टा, क्रिशल एडभटाईजिङ एन्ड क्रिएसन प्रालि र सन्दकपुर गाउँपालिकाको पहलमा जौबारीमा आयोजित फोहोरमैला व्यवस्थापन सम्बन्धी तालिम तथा सामाग्री हस्तान्तरण कार्यक्रमपछि स्थानीयहरू यस विषयमा थप जागरुक बनेका हुन्।
पर्यटकीय सम्भावना बोकेको जौबारी क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौती बनेको अवस्थामा आयोजित कार्यक्रमले स्थानीय स्तरमै समाधान खोज्ने प्रयास सुरु गरेको छ। तालिमपछि जौबारीलाई फोहोरमुक्त क्षेत्र बनाउने लक्ष्यसहित स्थानीयले घरबाट निस्किने फोहोर आफैं व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन्। पर्यटन व्यवसायी सोनाम तामाङका अनुसार जौबारीमा फोहोर व्यवस्थापनको जिम्मेवारी प्रत्येक व्यक्तिले आफ्नै घरबाट सुरु गर्नुपर्ने आवश्यकता छ।
उनले अरूको दैलोमा फोहोर फाल्ने प्रवृत्ति अन्त्य गर्दै व्यवस्थित रूपमा फोहोर व्यवस्थापन गर्नुपर्ने बताए। उनका अनुसार डम्पिङ साइट निर्माण गर्नुको सट्टा स्थानीय स्तरमै फोहोर व्यवस्थापन गर्ने प्रणाली विकास गर्नुपर्ने आवश्यकता रहेको छ। सन्दकपुर गाउँपालिका–२ का वडाध्यक्ष तथा वन, वातावरण तथा विपद् समिति संयोजक सनम राईले जौबारी क्षेत्रको विकासका लागि स्थानीय सरकारबाट माथिल्लो तहमा आवश्यक पहल भइरहेको बताए। उनले गाउँपालिकाले आगामी वर्ष जौबारी केन्द्रित केही कार्यक्रम र बजेट व्यवस्थापन गर्ने जानकारी दिए।
नेपाल प्रहरीले पनि स्थानीयले बनाएका नियमअनुसार फोहोर व्यवस्थापनमा सहकार्य गर्न तयार रहेको जनाएको छ। जौबारी प्रहरी इन्चार्ज डिबी कार्कीले समुदायले बनाएको नियमको पालना गराउँदै सरसफाइ र फोहोर व्यवस्थापनका कार्यक्रम प्रभावकारी बनाउन सुरक्षाकर्मी सहयोगी बन्ने बताए । यस्तै, शसस्त्र प्रहरीका इन्चार्ज आरके खत्रीले स्थानीयसँग सहकार्य गरेर जौबारी क्षेत्रमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै फोहोर व्यवस्थापनसम्बन्धी कार्यक्रम आवश्यक रहेकाले यस्ता गतिविधि निरन्तर हुनुपर्ने बताए।

माईजोगमाई गाउँपालिकाका पूर्व अध्यक्ष जितबहादुर राईले जौबारी क्षेत्रसँग आफूहरूको ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा स्थानीय आवश्यकता अनुसार विभिन्न पूर्वाधार निर्माणमा सहकार्य गरिएको बताए। उनले प्लास्टिकजन्य फोहोर बढ्नुमा नयाँ पुस्ताले प्रयोग गर्ने प्याकेजिङ सामग्री मुख्य कारण बनेकाले युवालाई लक्षित जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए। राईका अनुसार इलाम जिल्लामै ल्यान्डफिल्ड साइट रहेको पालिका माईजोगमाई हो।
आफ्नो कार्यकालमा फोहोरमैला व्यवस्थापन ऐन बनाउनुका साथै ल्यान्डफिल्ड साइटसम्म पुग्ने सडक निर्माण गरिएको उनले स्मरण गरे। साथै अमेरिकाको एक नगरपालिकासँग फोहोर प्रशोधन मेसिन ल्याउने र विद्यार्थीलाई छात्रवृत्ति दिने विषयमा छलफल अघि बढे पनि दोस्रो कार्यकालमा निर्वाचित हुन नसक्दा योजना अधुरो रहेको उनले बताए। पर्यटन कार्यालय काँकडभिट्टाका पर्यटन अधिकृत निरोज कट्टेलले आगामी वर्षको बजेटबाट महोत्सव प्रकारका कार्यक्रम आयोजना गर्ने योजना रहेको बताए। उनका अनुसार फोहोर व्यवस्थापनसम्बन्धी प्रविधि अध्ययन गरेर स्थानीय सरकारसँग सहकार्य गर्दै आगामी कार्यक्रम अघि बढाइनेछ।
कार्यालयका लेखा अधिकृत इश्वरी कुमार पौडेलले जौबारीलाई व्यवस्थित रूपमा विकास गर्न सके नेपालीसँगै बंगाली पर्यटकको समेत आकर्षण केन्द्र बन्न सक्ने सम्भावना रहेको बताए। उनले पर्यटकलाई राम्रो आतिथ्यता र स्वच्छ वातावरण उपलब्ध गराउन सके पर्यटनबाट स्थानीय अर्थतन्त्र मजबुत बन्ने धारणा राखे। क्रिशल एडभटाईजिङ एन्ड क्रिएसन प्रालिका प्रबन्धक सुजन तिमसिनाले पत्रकारिताको माध्यमबाट जौबारी क्षेत्रमा पर्यटक आकर्षित गर्न आफू प्रतिबद्ध रहेको बताए। उनले विगतदेखि नै जौबारीमा पर्यटक आउने क्रम रहे पनि फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखे पर्यटनबाट थप आर्थिक उन्नति सम्भव हुने बताए।
सन्दकपुर गाउँपालिका–५ का वडाध्यक्ष यज्ञबहादुर गुरुङले जौबारीलाई पर्यटक आकर्षणको केन्द्रका रूपमा विकास गर्न वडा कार्यालयले आवश्यक बजेटका लागि गाउँपालिकासँग समन्वय गर्ने बताए। उनका अनुसार करिब ५० वर्षअघि इलामकै मुख्य व्यापारिक केन्द्रका रूपमा रहेको जौबारी नेपाल–भारत व्यापारको महत्त्वपूर्ण थलो थियो। सडक सञ्जाल विस्तारसँगै अन्य क्षेत्रको विकास भएपछि जौबारी केही पछाडि परे पनि पर्यटनमार्फत पुनः जीवन्त बनाउने लक्ष्य रहेको उनले बताए।

वडा सदस्य कुमार गुरुङले जौबारी नेपाल–भारतबीच पर्यटन र व्यापार जोड्ने महत्वपूर्ण नाका भएको उल्लेख गर्दै विगतमा जमुना लगायत स्थानीय उत्पादन बिक्री हुने प्रमुख थलोका रूपमा परिचित रहेको बताए। अहिले भने पर्यटनमार्फत समृद्धि खोज्ने प्रयास भइरहेको उनले बताए। तालिममा माईजोगमाई र जौबारी क्षेत्रका स्थानीय, शसस्त्र प्रहरी र नेपाल प्रहरीसहित ४० भन्दा बढीको सहभागिता रहेको थियो। सहभागीहरूले जौबारीलाई फोहोरमुक्त क्षेत्र बनाउने लक्ष्यसहित आफ्नै घरबाट फोहोर व्यवस्थापन सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
तालिममा आकाश श्रेष्ठ, निरोज कट्टेल लगायतले सहजीकरण गरेका थिए। स्थानीय, सरकारी निकाय र निजी क्षेत्रको संयुक्त पहलसँगै जौबारीबासी फोहोरमैला व्यवस्थापनमा अग्रसर बन्दै गएका छन्, जसले स्वच्छ वातावरणसँगै पर्यटन विकासको आधार तयार गर्ने अपेक्षा गरिएको छ। सहभागीहरुलाई ५० थान बाँसको चोयबाट बनाइएको डस्टबिन समेत प्रदान गरिएको छ ।