Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

मार्क्सवादले मधेसमा छिट्टै भुइँचालो ल्याउने नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरूले उद्घोष

मार्क्सवादले मधेसमा छिट्टै भुइँचालो ल्याउने नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरूले उद्घोष

  • सन्देश सम्बाददाता
  • बिहिबार, भाद्र ७ २०७५


मार्क्सवादले मधेसमा छिट्टै भुइँचालो ल्याउने नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरूले उद्घोष

वीरगञ्ज । मधेसको राजनीतिक विचार र समाज परिवर्तनमा मार्क्सवादले छिट्टै भुइँचालो ल्याउने नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरूले उद्घोष गरेका छन्। मार्क्सवादका पवर्तक काल माक्र्स जन्मिएको दुई सय वर्ष पूरा भएको अवसरमा कार्ल मार्क्स जन्म द्विशतवार्षिकी समारोह समितिले वीरगन्जमा बुधबारदेखि आयोजना गरेको ‘मधेसमा मार्क्सवाद’ विषयक प्रदेश २ स्तरीय दुईदिने विचार गोष्ठीमा सहभागी नेकपा नेताले भने, ‘मधेसमा मार्क्सवादले अब एउटा कम्पन्न सिर्जना गर्दै छ, यदि तपाईं हामी थाकेनौं भने मार्क्सवादले मधेसमा छिट्टै ठूलो भुइँचालो ल्याउँदै छ।

मधेसमा मतको हिसाबले सबैभन्दा ठूलो दल नेकपा नै रहे पनि मधेसवाद हाबी रहेको भन्दै नेकपा नेताहरूले अब मधेसमा रहेका उपेन्द्रवाद, महन्थवाद र राजेन्द्रवादलाइ परास्त र समाप्त गर्ने उदेश्यले नै मार्क्सवादको अभियान थालिएको बताए। तराई मधेसमा कम्युनिस्टले भोग्दै र खेप्दै आएका समस्या र चुनौती सामना गर्न सक्ने क्षमता मार्क्सवादसँग मात्र रहेको भन्दै उनीहरूले मुलुकमा सबैभन्दा बढी मार्क्सवादको आवश्यकता प्रदेश २ मै रहेको बताए।

गोष्ठीको उद्घाटन गर्दै नेकपा वरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रदेश २ मार्क्सवादको लागि सबभन्दा उर्वर भूमि भएको बताए। मार्क्सवादको अझ गहन अध्ययन गरेर प्रदेश २ मा नेकपाको प्रभाव बढाउने दिशामा लाग्न पार्टीका नेता कार्यकर्ताहरूलाई आग्रह गर्दै उनले भने, ‘कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता एकजुट भएर अगाडि बढ्ने हो भने आगामी निर्वाचनमा प्रदेश २ का साथै मुलुकमै नेकपा एक्लैले दुई तिहाइ मत ल्याउने पक्का छ तर यसका लागि हाम्रा यहाँका साथीले मार्क्सवादको अझ गहन किसिमले अध्ययन गर्न पनि जरुरी छ। विभिन्न आन्दोलनबाट प्राप्त राजनीतिक परिवर्तनका उपलब्धिलाई संस्थागत गर्न मार्क्सवाद नै एक मात्र मार्गदर्शक विचार भएको खनालले बताए। उनले विगतमा भएका असमान सन्धि, सम्झौतामाथि पुनःविचार हुनेपर्ने विचार राखे। साथै उनले अहिले मुलुकको राष्ट्रियता कमजोर भएकाले यसलाई मजबुत बनाउन केन्द्र र प्रान्तीय सरकार लाग्नुपर्ने बताए।

उद्घाटन समारोहमा नेकपाका स्थायी समिति सदस्य एंव कार्ल मार्क्स जन्म द्विशतवार्षिकी समारोह समितिका संयोजक घनश्याम भुसालले मधेसमा मार्क्सवादको धेरै ठूलो महत्व र अर्थ रहेको बताए। ‘मधेसमा अहिले पनि विभेद, अशिक्षा, गरिबी, अनेक सामाजिक कुप्रथा, विकृति र विसंगति विद्यमान छन्’, भुसालले भने , ‘ती सबैलाई समाप्त पार्न माक्र्सवादको विचार नै एक मात्र अचुक विकल्प हो। त्यसैले मधेसमा मार्क्सवादको सबैभन्दा बढी जरुरी छ।’

‘मान्छेलाई साच्चिकै मान्छे बनाउने विचार भनेकै मार्क्सवाद हो। त्यसैले राम्रा मान्छेहरूको संसार बनाउने हो भने मार्क्सवादको विकल्प छैन’, भुुसालले भने, ‘मधेसमा विद्यमान विभेद, विकृति, कुप्रथा, पछौटेपन, गरिबी, चाकरी इत्यादि हटाउने अचुक अस्त्र भनेकै मार्क्सवाद हो, त्यसैले माक्र्सवादको आवश्यकता सबैभन्दा बढी प्रदेश २ मा छ।’ नेकपाका केन्द्रीय सदस्य एंव प्रदेश २ का कार्यदल सदस्य नागेन्द्र चौधरीले अबको चार वर्षपछि हुने प्रादेशिक निर्वाचनमा प्रदेश २ मा पनि नेकपाको सरकार बनाउने लक्ष्य लिएर अगाडि बढेको र त्यसका लागि प्रदेश २ मा अहिलेदेखि नै मार्क्सवादको अभियान थालिएको बताए।

बिहिबार साँझसम्म चल्ने गोष्ठीमा सहभागी नेकपा नेता र कार्यकर्तालाई नेकपाका नेताहरू मोहनविक्रम सिंह, घनश्याम भुसाल, राम कार्की, डा विजय पौडेल, गणेश साह, रामचन्द्र झा, ठाकुर गैरेलगायतले मधेसमा वर्ग संघर्ष र पहिचान तथा मार्क्सवादका विषयमा गोष्ठीमा सहभागी नेकपाका नेता र कार्यकर्ताहरूलाइ प्रशिक्षण दिइरहेका छन्। गोष्ठीमा प्रदेश २ का आठै जिल्लाका नेकपाका अध्यक्ष, स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य, नेकपाका विधार्थी र युवा संघ तथा भ्रातृ तथा शुभेच्छुक संघसंगठनका जिल्लास्तरका अगुवा नेता कार्यकर्ताको सहभागिता छ।

प्रतिक्रिया
सम्बन्धित समाचार