इलाम – माईजोगमाई गाउँपालिका ले अपाङ्गता भएका व्यक्तिहरूको घरमै पुगेर परिचयपत्र वितरण तथा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको छ। अपाङ्गता समन्वय समिति संयोजक प्रविना राईको संयोजकत्वमा वडा नं १ र ३ मा घरदैलो अनुगमन गर्दै चार जना लाभग्राहीलाई अपाङ्गता परिचयपत्र प्रदान गरिएको हो।
कार्यक्रमअन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूको पारिवारिक अवस्था बुझ्ने, आवश्यक पुनर्स्थापना सेवाको पहिचान गर्ने तथा हालको स्वास्थ्य परीक्षण गर्ने कार्य समेत गरिएको थियो। सो क्रममा न्यानो कपडा वितरणसमेत गरिएको जनाइएको छ।
अनुगमन टोलीमा गाउँपालिका अध्यक्ष कुशबहादुर थेवे, उपाध्यक्ष प्रविना राई, माईजोगमाई आधारभूत अस्पताल की डाक्टर यसमिन शेर्पा, वडा नं १ का वडा सदस्य भक्त चेम्जोङ, अपाङ्गता सहायता कक्षका कर्मचारी सरोज पौडेल, पञ्जिकरण इकाईका डम्बर निरौला तथा मनोसामाजिक परामर्शकर्ता लक्ष्मी खड्का लगायतको सहभागिता रहेको थियो।

टोलीले वडा नं १ को प्रेमेजुङमा एक जना र लप्सीबोटेको माथिल्लो गाउँमा एक जनालाई रातो (पूर्ण अशक्त) अपाङ्गता परिचयपत्र वितरण गरेको छ। त्यसैगरी वडा नं ३ को नामसालिङस्थित गोपिनीमा एक जनालाई रातो (पूर्ण अशक्त) र एक जनालाई निलो ९अति अशक्त० अपाङ्गता परिचयपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।
पालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई स्वास्थ्य उपचार सहायक सामग्री तथा आवश्यक सेवा–सुविधा उपलब्ध गराउँदै आएको छ। हिँडडुल गर्न नसक्ने व्यक्तिहरूलाई घर–घरमै पुगेर परिचयपत्र वितरण गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको गाउँपालिकाको भनाइ छ। यसअघि पनि अन्य वडाहरूमा घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरिएको थियो।