इलामको फाकफोकथुम गाउँपालिका-१ ठिङगेपुरमा दिदी-बहिनीबीच भएको झगडामा एक महिलाको ज्यान गएको छ। स्थानीयका अनुसार २९ वर्षीया अञ्जली लिम्बू र उनकी काकाकी छोरी ३७ वर्षीया पुष्पा लिम्बूबीच घरायसी विषयमा विवाद हुँदा झगडा भएको थियो।
सामान्य भनाभनबाट सुरु भएको विवाद कपाल लुछालुछसम्म पुगेको र सोही क्रममा अञ्जली लिम्बू गम्भीर घाइते भएकी थिइन्। इलाका प्रहरी कार्यालय (इप्रका) मंगलबारेबाट मृतकको लासको कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल इलाम हुँदै एम्बुलेन्समार्फत बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान घोपा अस्पताल, सुनसरी पठाइएको छ।
प्रहरीका अनुसार घटनामा झगडामा संलग्न रहेको आरोपमा पुष्पा लिम्बुलाई नियन्त्रणमा लिई इप्रका मंगलबारेमा राखिएको छ। घटनाको कारण र विस्तृत विवरण खुलाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।