इलाम । इलाममा लागुऔषध ओसारपसार नियन्त्रण चुनौतीपूर्ण भएको छ । नेपाल भारत खुल्ला सीमानाका कारण इलाममा लागुऔषध ओसारपसार नियन्त्रण चुनौतीपूर्ण भएको हो । चालु आर्थिक वर्षको हालसम्मको अवधिमा लागुऔषध मुद्धामा ७ जना पक्राउ परेका छन् । जसमा ७ जना नै पुरुष रहेका छन् । लागुऔषधसँग सम्बन्धित मुद्धा ४ वटा दर्ता भएका छन् । यस्तै, सोही अवधिमा १२ ग्राम ४० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।
पछिल्ला अढाई वर्षमा लागुऔषध सम्बन्धित मुद्धा ४९ वटा जिल्ला पहरी कार्यालय इलाममा दर्ता भएका हुन् । जसमा ८८ जना पुरुष, ३ जना महिला, २ बालक र १ बालिका पक्राउ परेका छन् । अढाई वर्षमा १ सय ७३ दशमलव १९३ ग्राम ब्राउन सुगर, साढे आठ केजि गाँजा, ३ ग्राम ३९० मिलिग्राम अफिम प्रहरीले बरामद गरेको हो । त्यसैगरी आईट्राभेट ८ ट्याब्लेट र अन्य विभिन्न नामका ९२ पिस औषधीहरु बरामद गरेको प्रहरीको तथ्याङ्क छ । जिल्ला प्रहरी कार्यालय इलामका डिएसपि लक्ष्मी भण्डारीका अनुसार अघिल्ला आर्थिक वर्षको तुलनामा लागुऔषधका घटना यस वर्ष कम छन् ।
इलाममा लागुऔषध प्रयोगकर्ता १६ देखि २० वर्ष उमेरका युवा युवतीको संख्या बढी छ । बालबालिकाहरु पक्राउ परे पनि सजायमा छुट हुने भएकाले ओसारपसारका लागि बालबालिकाहरुको पनि प्रयोग छ । मुख्य नाकामा प्रहरी परिचालन भए पनि नेपाल–भारत खुला सिमाना भएको कारण पूर्ण नियन्त्रण हुन सकेको छैन ।
लागुऔषध ओसारपसारको मुख्य चार नाकामध्ये झापाको काँकडभिट्टा नाका इलाम झापा सीमा क्षेत्रबाट करिब २० किलोमिटरको दूरीमा मात्र पर्छ । काँकडभिट्टा र इलामको पशुपतिनगर नाका हुँदै इलाममा लागुऔषध भित्रने गरेको पाइन्छ । लागुऔषध नियन्त्रणका लागि विद्यालयका विद्यार्थीहरुमा सचेतना कार्यक्रमको आयोजना गर्नुपर्ने नेपाल बाल संगठनका सदस्य डिकेन्द्र दाहालले बताउनुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सीमामा लागुऔषध नियन्त्रणका लागि टोली परिचालन हुन्छ । तर नेपाल भारत सीमा क्षेत्रमा चोरबाटोहरु धेरै भएकाले पूर्ण नियन्त्रणमा कठिनाई भएको हो ।