इलाम । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालको दोस्रो खेलमा इटालीसँग १० विकेटले हार व्यहोरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दिएको १२४ रनको लक्ष्य इटलीले १२.४ ओभरमा पूरा गर्यो। यो नेपालका लागि टी–२० विश्वकपमा पहिलोपटक १० विकेटले पराजित हुने खेल हो।
नेपालले निर्धारित २० ओभरमा १९।३ ओभरमा १२३ रनमा अलआउट भयो। आरिफ शेखले सर्वाधिक २७ रन बनाए भने रोहित पौडेल २३, आसिफ शेख २०, दीपेन्द्र सिंह ऐरी १७ र करण केसी अविजित १८ रनमा सीमित भए। अन्य ब्याट्सम्यानले दुवै अंकको स्कोर पनि छुन सकेनन्।
इटालीका मोस्का दाजुभाइ एन्थोनी र जस्टिनले उत्कृष्ट ब्याटिङ गर्दै लक्ष्य पछ्याए। उनीहरूले ६ ओभरको पावर प्लेमा ६८ रनको साझेदारी गरे। दुवैले ११औं ओभरमा अर्धशतक पूरा गरे। इटालीका लागि क्रिसन कालुगमागेले ३, बेन्जामिन मानेन्टीले २, जेजे स्मट्सले १ विकेट लिए।
नेपाल समूह सी मा लगातार दोस्रो हार व्यहोर्दै अंकविहिन भयो। यसअघि पहिलो खेलमा इंग्ल्याण्डसँग ४ रनले पराजित भएको थियो। लगातार दुई हारपछि नेपालको सुपर एटमा पुग्ने संभावना कमजोर भएको छ। इटलीका लागि यो टी–२० विश्वकपमा पहिलो जीत हो। डेब्यु गर्ने टोलीले आफ्नो दोस्रो खेलमै जित हात पारेको हो।