इलाम । माईजोगमाई गाउँपालिका अपाङ्गता समन्वय समिति संयोजक प्रविना राईको संयोजकत्वमा गाउँपालिकाका वडा नं। ५, १ र ३ मा अपाङ्गता भएका व्यक्तिहरूको घरदैलोमा पुगेर अनुगमन तथा सेवा प्रदान गरिएको छ । अनुगमन टोलीले अपाङ्गता भएका व्यक्तिहरूको पारिवारिक अवस्था बुझ्ने, आवश्यक पुनर्स्थापना सेवाको पहिचान गर्ने, हालको स्वास्थ्य परीक्षण गर्ने तथा अपाङ्गता परिचयपत्र प्रदान गर्नुका साथै न्यानो कपडा वितरण गरेको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे, उपाध्यक्ष प्रविना राई, माईजोगमाई आधारभूत अस्पतालकी डाक्टर यसमिन शेर्पा, सामाजिक विकास शाखा प्रमुख मान बहादुर पौडेल, वडा नं १ का वडा सदस्य भक्त चेम्जोङ, अपाङ्गता सहायता कक्षका कर्मचारी सरोज पौडेल, पञ्जिकरण इकाईका डम्बर निरौला लगायतको उपस्थिति रहेको थियो ।
अनुगमनका क्रममा वडा नं ५, १ र ३ का गरी जम्मा ६ जना अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र प्रदान गरिएको छ । वडा नं ५ सोयाङमा १ जनालाई निलो (अति अशक्त) कार्ड, वडा नं १ मा २ जनालाई रातो (पूर्ण अपाङ्गता) र १ जनालाई पहेँलो (मध्यम) कार्ड, तथा वडा नं ३ मा १ जनालाई सेतो ९सामान्य० र १ जनालाई रातो (पूर्ण अपाङ्गता) कार्ड वितरण गरिएको हो ।
गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई स्वास्थ्य उपचार, सहायक सामग्री तथा आवश्यक सेवा सुविधा उपलब्ध गराउँदै आएको छ । साथै, हिँडडुल गर्न नसक्ने व्यक्तिहरूका लागि घरमै पुगेर परिचयपत्र वितरण गर्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।