Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

झापाको जितसँगै बुढासुब्बा गोल्डकपको सेमिफाइनल समीकरण पूरा

झापाको जितसँगै बुढासुब्बा गोल्डकपको सेमिफाइनल समीकरण पूरा

  • सन्देश सम्बाददाता
  • मंगलबार, माघ २८ २०८२


झापाको जितसँगै बुढासुब्बा गोल्डकपको सेमिफाइनल समीकरण पूरा

 झापा-११ फुटबल क्लब २६ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेसँगै प्रतियोगिताको अन्तिम चार टोलीको समीकरण पूरा भएको छ। मंगलबार धरान रंगशालामा भएको चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा झापा ११ ले सातदोबाटो युथ क्लब ललितपुरलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो।

झापाको जितमा राजेश दाहाल र एरोन थापा नायक बने। खेलको १७ औँ मिनेटमा राजेशले गोल गर्दै झापालाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले अघि रहेको झापामाथि दोस्रो हाफमा सातदोबाटोले दबाब बढाएको थियो। दोस्रो हाफको १३ औँ मिनेटमा विदेशी खेलाडी बबिरोजले गोल फर्काएपछि खेल १–१ को बराबरीमा पुगेको थियो। तर खेल सकिन एक मिनेट बाँकी रहँदा एरोन थापाले निर्णायक गोल गर्दै झापालाई जित दिलाए।

उत्कृष्ट प्रदर्शनका लागि एरोन थापा म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार रुपैयाँ पुरस्कार पाए। इञ्जुरी समयको तेस्रो मिनेटमा सातदोबाटोका बबिरोज दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए। झापा ११ को जितसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। अब झापा ११ ले चर्च ब्वाइज युनाइटेडसँग बिहीबार दोस्रो सेमिफाइनल खेल खेल्नेछ।

यसअघि बुधबार हुने पहिलो सेमिफाइनलमा लालीगुराँस एसोसियसन पोखरा र प्लानिङ ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ। प्लानिङ ब्वाइजले साबिक विजेता न्युरोड टिम ९एनआरटी० लाई हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो भने लालीगुराँसले आयोजक धरान फुटबल क्लबलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो। प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ। विजेता टोलीले नगद १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार