सन्दकपुर : इलामको सन्दकपुर–३ स्थित सानीमाई चोकमा सरस्वती पूजा २०८२ को अवसरमा सङ्कलित भेटी रकमबाट खरिद गरिएको डस्टबिन समुदायलाई हस्तान्तरण गरिएको छ। ईस्ट स्काई प्रगतिशील बाल क्लबको अगुवाइमा विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको सक्रिय सहभागितामा सानीमाई चोक सरसफाइ कार्यक्रम सम्पन्न गर्दै उक्त डस्टबिन स्थानीय समुदायलाई हस्तान्तरण गरिएको हो।
कार्यक्रममार्फत सार्वजनिक स्थानको सरसफाइ र फोहोर व्यवस्थापनमा स्थानीयको जिम्मेवारी र चेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको बाल क्लबले जनाएको छ। सरसफाइपछि स्थानीय व्यक्तिहरूको उपस्थितिमा डस्टबिन हस्तान्तरण गर्दै वातावरण संरक्षणमा सबैको साझा भूमिका आवश्यक रहेकोमा जोड दिइएको थियो।
गत वर्ष सरस्वती पूजाबाट सङ्कलित भेटी रकमबाट स्थानीय ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिहरूलाई पोषिलो खानेकुरा र न्यानो कपडा खरिद गरी सहयोग गरिएको थियो। ईस्ट स्काई प्रगतिशील बाल क्लबले हरेक वर्ष सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखी यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।