Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

समुदायमा आधारित रेड पाण्डा (हाब्रे) परियोजनाबाट इलाममा होम स्टे र निजी नर्सरी प्रवद्र्धन

समुदायमा आधारित रेड पाण्डा (हाब्रे) परियोजनाबाट इलाममा होम स्टे र निजी नर्सरी प्रवद्र्धन

  • सन्देश सम्वाददाता
  • बुधबार, माघ १५ २०८२


समुदायमा आधारित रेड पाण्डा (हाब्रे) परियोजनाबाट इलाममा होम स्टे र निजी नर्सरी प्रवद्र्धन

इलाम — समुदायमा आधारित रेड पाण्डा (हाब्रे) संरक्षण परियोजनाअन्तर्गत इलामका विभिन्न समुदायमा पर्यटन प्रवद्र्धन गर्दै स्थानीय आयआर्जन बढाउने उद्देश्यका साथ पर्यटन कार्यालय काँकडभिट्टामा पाँच वटा होम स्टे दर्ताका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ ।

परियोजनाअनुसार सन्दकपुर गाउँपालिका वडा नं. २ र ४ मा तीन वटा, इलाम नगरपालिका वडा नं. ३ मा एक वटा र सूर्योदय नगरपालिका वडा नं. १ मा एक वटा होम स्टे दर्ता भएका छन् । यसका साथै, विगतदेखि सञ्चालनमा रहेको सूर्योदय नगरपालिका–१ स्थित थुम्के क्षेत्रको समुदायद्धारा सञ्चालित सामुदायिक गोर्खे होम स्टेका दुई वटा होम स्टेलाई स्तरोन्नतिका लागि करिब चार लाख रुपैयाँ बराबरका सामग्री प्रदान गरिएको छ ।

घरवास (होम स्टे) सञ्चालनमार्फत समुदायका महिलाको आयआर्जन वृद्धि हुनुका साथै पर्यावरणमैत्री पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास परियोजनाले लिएको छ । रेड पाण्डा अवलोकनका लागि आउने पर्यटक तथा अन्य आगन्तुकका लागि वास–बसोबासको उपयुक्त व्यवस्था नहुँदा चुनौती रहेको अवस्थामा परियोजनाले विधिवत् होम स्टे दर्ता गरिदिँदा आफू उत्साहित भएको लामिधुरा होम स्टेकी सञ्चालक दाल्की शेर्पाले बताइन्।

यसैगरी, वन व्यवस्थापन तथा पुनर्भरणका लागि स्थानीय प्रजातिका बिरुवा उत्पादन गर्न सन्दकपुर गाउँपालिका वडा नं. २ र ४ मा दुई वटा निजी नर्सरी दर्ताका लागि पनि सहयोग गरिएको छ। नर्सरीमा उत्पादन भएका बिरुवा परियोजना र वन कार्यालयले खरिद गर्ने व्यवस्था रहेको छ भने आवश्यकता अनुसार अन्य सामुदायिक वन उपभोक्ता समितिले समेत खरिद गर्न सक्नेछन्।

निजी नर्सरी सञ्चालनबाट स्थानीय समुदायमा रोजगारीका अवसर सिर्जना भएको लालवास नर्सरी, कृषि तथा पशुपालन फार्मका सञ्चालक पासाङ लमु शेर्पाले बताए। परियोजनाले संरक्षण, पर्यटन र रोजगारीलाई एकसाथ जोड्दै समुदायको दीगो जीविकोपार्जनमा योगदान पु¥याइरहेको सरोकारवालाहरूले बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार