Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

राजनीतिक परिपक्वताको खोजीमा इलाम–२ : आचार्य र नेम्वाङ मुख्य प्रतिस्पधीको रुपमा भिड्दै

राजनीतिक परिपक्वताको खोजीमा इलाम–२ : आचार्य र नेम्वाङ मुख्य प्रतिस्पधीको रुपमा भिड्दै

  • सन्देश सम्वाददाता
  • आइतबार, माघ १२ २०८२


राजनीतिक परिपक्वताको खोजीमा इलाम–२ : आचार्य र नेम्वाङ मुख्य प्रतिस्पधीको रुपमा भिड्दै

इलाम : इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा फागुन २१ गते हुने निर्वाचनले स्थानीय राजनीतिमा नयाँ तरंग ल्याएको छ। नेपाली कांग्रेसबाट भेषराज आचार्य र नेकपा (एमाले) बाट सुहाङ नेम्वाङबीचको प्रतिस्पर्धालाई इलामेली मतदाताले चासोका साथ हेरिरहेका छन्।

निर्वाचन क्षेत्र नम्बर २ मा यसपटक स्थानीय राजनीतिमा विशेष अर्थ बोकेको छ। सतहमा हेर्दा यो निर्वाचन दुई प्रमुख दलका उम्मेदवारबीचको सामान्य प्रतिस्पर्धा जस्तो देखिए पनि, भित्री तहमा इलामेली मतदाताले विगत, वर्तमान र सम्भावित भविष्यलाई एकसाथ तौल्ने प्रयास गरिरहेको देखिन्छ।

नेपाली कांग्रेसका उम्मेदवार आचार्य र एमालेका उम्मेदवार नेम्वाङबीचको प्रतिस्पर्धा केवल व्यक्तिगत लोकप्रियतामा सीमित छैन । यो प्रतिस्पर्धा राजनीतिक शैली, नेतृत्वको प्रकार र प्रतिनिधित्वको चरित्रबारे मतदाताले गर्ने मौन मूल्याङ्कनसँग जोडिएको छ।
परिचित अनुहार, परीक्षण भइसकेको राजनीतिक यात्रा !
भेषराज आचार्य इलामको राजनीतिमा आकस्मिक रूपमा उदाएका नेता होइनन् । विद्यार्थी राजनीतिदेखि संगठन निर्माण, जनआन्दोलनदेखि स्थानीय विकाससम्मको लामो यात्राले उनलाई इलामेली समाजमा निरन्तर उपस्थित पात्रका रूपमा स्थापित गरेको छ । उनका लागि राजनीति कुनै निश्चित समयको गतिविधि होइन, दीर्घकालीन जिम्मेवारीका रूपमा बुझिने गरेको स्थानीय स्तरका जानकारहरू बताउँछन्।

जिल्ला विकास समिति सदस्यका रूपमा काम गरेको अनुभव, संविधान सभा उम्मेदवारका रूपमा राष्ट्रिय राजनीतिमा सक्रियता र पार्टी संगठनभित्र निरन्तर जिम्मेवारी सम्हालेको इतिहासले आचार्यलाई संस्थागत राजनीतिसँग जोडिएको नेता बनाएको छ । धेरै मतदाताले उनलाई ‘समस्या पहिचान गर्न सक्ने र प्रक्रियाबाट समाधान खोज्ने’ स्वभावको नेता मान्ने गरेका छन्।

इलाम–२ का मतदाताले पछिल्ला वर्षहरूमा राजनीतिक अस्थिरता, प्रतिनिधिको फेरबदल र अपेक्षित परिणाम नआउने अवस्थाहरू धेरैपटक भोगिसकेका छन्। यही अनुभवले यसपटक मतदाताको प्राथमिकता उत्साहभन्दा स्थायित्व र बिकाश निमार्णतर्फ सरेको देखिन्छ ।

स्थानीय चिया पसल, गाउँभेला र सामाजिक जमघटहरूमा हुने अनौपचारिक संवादमा मतदाताहरू खुलेर पक्ष नलिएको देखिए पनि, “हाम्रो कुरा बुझ्ने”, “संसदमा टिकेर बोल्न सक्ने” र “संस्थागत रूपमा काम गर्न सक्ने” नेतृत्वप्रति झुकाव देखिन थालेको संकेत पाइन्छ । यो झुकाव नारामा होइन, संयमित अभिव्यक्ति र मौन समर्थनमा प्रकट हुँदै गएको देखिन्छ।

यसो भन्दै गर्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङ पनि बलियो उम्मेदवारका रुपमा खडा भएका छन् । उनले नयाँ पुस्ताको प्रतिनिधित्व, वैचारिक स्पष्टता र परिवर्तनको एजेन्डा प्रस्तुत गरिरहेका छन् । यसले विशेषगरी युवामाझ चासो बढाएको देखिन्छ । तर इलाम–२ को चुनावी बहस केवल नयाँपनको आकर्षणमा सीमित नरहेको विश्लेषकहरू बताउँछन्।

मतदाताले अहिले “कसले संसदमा इलामको आवाज प्रभावकारी रूपमा राख्न सक्छ” भन्ने प्रश्नलाई केन्द्रमा राखेका छन् । यस प्रश्नको उत्तर खोज्दा धेरैले अनुभव, निरन्तरता र राजनीतिक परिपक्वतालाई निर्णायक मानकका रूपमा हेर्न थालेको देखिन्छ। राजनीतिसँगै सामाजिक सेवामा पनि लामो समय संलग्न रहँदै आएका आचार्यलाई धेरै मतदाताले ‘चुनावमा मात्र देखिने नेता’को रूपमा होइन, नियमित रूपमा समाजमा भेटिने व्यक्तिका रूपमा चिन्छन्।

शिक्षा, सामाजिक संस्था र मानवीय सेवासँग जोडिएका भूमिकाले उनको राजनीतिक छविलाई फराकिलो बनाएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार यस्तो निरन्तर उपस्थिति नै इलाम–२ मा उनको मुख्य राजनीतिक पूँजी बनेको छ। समयअनुसार बदलिँदो राजनीतिमा पनि संगठन र समाजसँग सम्बन्ध नटुट्नु मतदाताको भरोसाको आधार बनेको देखिन्छ। चुनावी प्रचार औपचारिक रूपमा अघि बढ्दै जाँदा इलाम–२ मा ठूलो नाराबाजी वा तीव्र ध्रुवीकरण देखिँदैन। मतदाता बोल्नभन्दा सोच्न रुचाइरहेको संकेत चुनावी माहोलले दिइरहेको छ।

फागुन २१ को मत परिणामले अन्तिम निर्णय दिनेछ । तर हालसम्मको माहोल हेर्दा इलाम–२ मा अनुभव, निरन्तरता र समयले परीक्षण गरिसकेको राजनीतिक यात्रालाई गम्भीरतापूर्वक तौल्ने प्रयास भइरहेको स्पष्ट देखिन्छ। यही मौन मूल्याङ्कन नै यस निर्वाचनको सबैभन्दा निर्णायक पक्ष बन्ने अनुमान राजनीतिक वृत्तमा गर्न थालिएको छ। आचार्य र नेम्वाङसंगै प्रतिष्पर्धामा अन्य १३ जना रहेका छन् । तर आचार्य र नेम्वाङ चुनाबी प्रतिस्पर्धिका रुपमा लिइएको छ । नयाँ बुलन्दबाट

प्रतिक्रिया
सम्बन्धित समाचार