इलाम : किरात याक्थुङ चुम्लुङ फाकफोकथुम अध्यक्षमा डेनी थेगिम (सागर) निर्वाचित भएका छन् । फाकफोकथुम गाउँपालिकाको आमचोकमा सम्पन्न चुम्लुङको दोस्रो गाउँ अधिवेशनबाट थेगिम अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
अधिवेशनले थेगिमको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । उपाध्यक्षमा धनमाया लिम्बू, सचिवमा गजेन्द्र योङहाङ, सहसचिवमा जगतबहादुर योङहाङ र कोषाध्यक्षमा राजकुमारी लिम्बू निर्वाचित भएका छन् ।
सदस्यहरुमा राजकुमार लिम्बू, सन्तोष पापो, झलीमाया लिम्बू, सुनिता नेम्बाङ, देवीका लिम्बू, अम्बर लिम्बू, दिलमाया लिम्बू, दीपा लिम्बू, भीमबहादुर लिम्बू, अनु लिम्बू, सुनिता सेर्मा र आशा चेम्जोङ निर्वाचित भएका छन् ।
नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई किरात याक्थुङ चुम्लुङ इलाम सचिव एवम् निर्वाचन समिति संयोजक राम योङहाङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । अधिवेशनको बन्दसत्रमा तत्कालीन सचिव गजेन्द्र योङहाङले साँगठानिक र आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
बन्द सत्रले साँगठानिक तथा ५० हजार पाँच सय बराबरको आय र ६८ हजार पाँच सय बराबरको व्ययको आर्थिक प्रतिवेदन पारित गरेको थियो । चुम्लुङ अधिवेशन आयोजक समिति संयोजक धनमाया लिम्बूको अध्यक्षमा भएको कार्यक्रमको उद्घाटन चुम्लुङ जिल्ला सचिव राम योङहाङले गरेका थिए ।
उद्घाटन कार्यक्रममा साँस्कृतिक केलाङ प्रस्तुत गर्ने फाकफोकथुम(४ को फुङ्वा युवा समूह र फाकफोकथुम(३ को श्रीजङ्घा युवाक्लबलाई प्रसंशापत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा जिल्ला सचिव योङहाङसहित फाकफोकथुम गाउँपालिका-१ का वडाअध्यक्ष कर्णबहादुर लिम्बू, ३ का वडाअध्यक्ष दिपेन्द्र लिम्बू, योङहाङ समाजका सचिव दीपक योङहाङ, नेपाली कांग्रेसका खगेन्द्र योङहाङ (राजु) नेकपा एमालेका प्रेम लिम्बू, नेपाल आदिवासी जनजाति महासंघका सहसचिव सुजन श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको स्वागत आयोजकका सदस्य अम्बर लिम्बूले गरेका थिए । चुम्लुङ इलामको नवौं जिल्ला अधिवेशन यही माघ ८ गते इलाम सदरमुकाममा तय भएको छ ।