फिक्कल । ऐतिहासिक निशान पदमार्ग पदयात्रा–२०८२ को अवसरमा आयोजित हाजिरी जवाफको उपाधि एभरल्यान्ड इन्टरनेशनल बोर्डिङले जितेको छ । सूर्योदय नगरपालिकाको आयोजनामा करफोकस्थित करफोक विद्या मन्दिर माध्यमिक विद्यालयमा माध्यमिक तहस्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।
हाजिरीजवाफमा करफोक माविले दोश्रो स्थान हासिल गरेको छ । ऐतिहासिक निशान पदमार्गसँग सम्बन्धित विषयवस्तुमा केन्द्रित प्रतियोगितामा नगरपालिकाभित्रका ८ वटा विद्यालयको सहभागिता रहेको थियो।
विद्यार्थीहरूमा स्थानीय इतिहास, संस्कृति र ऐतिहासिक पदमार्गप्रति जानकारी तथा चासो बढाउने उद्देश्यले हाजिरीजवाफ कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमले ऐतिहासिक निशान पदमार्गको महत्व उजागर गर्नुका साथै नयाँ पुस्तालाई आफ्नो इतिहासप्रति सचेत गराउन महत्वपूर्ण योगदान पुगेको आयोजकको भनाइ छ ।
ऐतिहासिक, शैक्षिक र सांस्कृतिक गतिविधिलाई एकसाथ जोड्दै अघि बढाइएको ऐतिहासिक निशान पदमार्ग पदयात्रा–२०८२ अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।