सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिका–३ चारदेउरालीमा फाल्गुनन्द पदमार्ग निर्माणको औपचारिक रूपमा शिलान्यास गरिएको छ । पदमार्ग निर्माणको सुरुआत जेष्ठ नागरिक लिला बहादुर राई र प्रेम नाछिरिङले भूमि पूजा गरेर गरेका थिए ।
सन्दकपुर–३ का वडाध्यक्ष लिल बहादुर बुर्जा र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बुले संयुक्त रूपमा शिलान्यास गरेका छन् । सन्दकपुर गाउँपालिकाको केन्द्र देउराली बजारबाट हाइकिङ गर्दै ५० भन्दा बढी शिलान्यास स्थलसम्म पुगेर कार्यक्रम सम्पन्न गरिएको थियो ।
शिलान्यास कार्यक्रममा सन्दकपुर–३ का वडाध्यक्ष लिलबहादुर बुर्जा, सन्दकपुर–२ का वडाध्यक्ष सनम राई, प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बु, गाउँपालिकाका इन्जिनियर राजकुमार यादव, होमस्टे व्यवसायी जीवन शिवा, जेष्ठ नागरिक लिला बहादुर राई, पदमार्ग समितिका पूर्व अध्यक्ष कमला खनाललगायतले शुभकामना मन्तव्य राख्दै पदमार्गले पर्यटन र स्थानीय अर्थतन्त्रमा सकारात्मक योगदान दिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा इकाई प्राविधिक भवानी प्रसाद चौधरीले परियोजनाबारे जानकारी गराउँदै फाल्गुनन्द पदमार्ग एक करोड रुपैयाँभन्दा बढी लागतमा सन् २०२८ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको बताए । उनका अनुसार पदमार्ग इलाम हुँदै पाँचथरसम्म जोडिनेछ, जसले धार्मिक तथा पर्यटन पदयात्रालाई थप प्रवद्र्धन गर्नेछ ।
परियोजनाको लगानी संरचना अनुसार स्विस सरकारको ५१ प्रतिशत, स्थानीय सरकार र प्रदेश सरकारको २२–२२ प्रतिशत तथा संघीय सरकारको ५ प्रतिशत लगानी रहनेछ । फाल्गुनन्द पदमार्ग उपभोक्ता समिति मार्फत यस बर्ष ४ खण्डमा करिब ७ किलोमिटर लम्बाइमा निर्माण गरिनेछ । कार्यक्रममा चारै खण्डका उपभोक्ता समितिका अध्यक्षहरूले संयुक्त रूपमा अध्यक्षता गरेका थिए ।
पदमार्ग निर्माण उपभोक्ता समितिका सचिव श्याम राईले कार्यक्रम सञ्चालन गरेका थिए । स्थानीय बासिन्दाले फाल्गुनन्द पदमार्ग निर्माणले धार्मिक पर्यटनसँगै रोजगारी, होमस्टे व्यवसाय र समग्र स्थानीय विकासमा नयाँ सम्भावना खोल्ने अपेक्षा व्यक्त गरेका छन्।