फिक्कल । टारी गोल्डकप तथा पर्यटन महोत्सव–२०८२ आगामि पुष २३ गतेबाट हुने भएको छ । टारी फुटबल क्लबको आयोजनामा सन्दकपुर गाउँपालिका–३ सुलुबुङमा फुटबल र पर्यटन महोत्सव आयोजना हुने भएको हो । आयोजकले इलाममा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको बारेमा जानकारी गराएको छ ।
सधैका बर्ष झै माघ १ गते फाइनल हुने प्रतियोगितामा खुल्ला, भेट्रान्स र यु–१४ को खेलहरु संचालन हुने टारी फुटबल क्लबका सचिव रुपेन्द्रराज नेम्वाङले जानकारी दिए । यसअघिका संस्करणमा खुल्ला र भेट्रान्स मात्र आयोजना हुँदै आएकोमा यस पटक यु–१४ थप गरिएको हो । खुला पुरुषतर्फ १६ टिम सहभागी हुनेछन् ।
विजेताले नगद ७० हजार र उपविजेताले ३५ हजार नगद पाउनेछन् । भेट्रानतर्फ ८ टिम सहभागी हुनेछन् । विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार पाउनेछन् । यु–१४ प्रतिस्पर्धाका विजेताले नगद १० हजार तथा उपविजेताले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । टिम दर्ता यसपटक निःशुल्क गरिएको सचिव नेम्बाङले बताए ।
प्रतियोगिताका लागि पुरस्कारबाहेक व्यवस्थापनमा करिब साढे ३ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । आयोजक टारी फुटबल क्लब अध्यक्ष महेन्द्र साउदेनले करिब ४० लाख रुपैयाँ खर्चेर ११ रोपनी ५ आना जमिनमा सेभेन साइजको खेलमैदान निर्माण गरिएको बताए । २०७८ सालयता निरन्तर प्रतियोगिता सञ्चालन गर्दा पटक–पटक खेलमैदान लिजमा लिँदै खेलाउँदै फिर्ता दिँदै गरेको अवस्थामा अहिले आफ्नै खेलमैदान हुनु खुसीको कुरा भएको उनको भनाइ छ ।