इलाम — महेन्द्ररत्न बहुमुखी क्याम्पस (मरब) इलाममा आगामी माघ २३ देखि २५ गतेसम्म स्ववियु विद्यार्थी महोत्सव आयोजना हुने भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजनामा क्याम्पस प्राङगणमा हुन लागेको महोत्सवले विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता र शैक्षिक चेतनालाई एकै मंचमा उजागर गर्ने लक्ष्य लिएको छ।
महोत्सवका क्रममा विद्यार्थीहरूका विविध प्रतिभा प्रस्तुत हुनेछन् भने कला प्रदर्शनी, शैक्षिक छलफल, विभिन्न विषयगत स्टल, प्रदर्शनी तथा गीत–संगीत र साहित्यिक कार्यक्रमहरू पनि सञ्चालन गरिने स्ववियु अध्यक्ष विशाल कार्कीले जानकारी दिए ।
यसैगरी, पुराना विद्यार्थीहरूको सहभागितामा विद्यार्थी पुनर्मिलन कार्यक्रम समेत महोत्सवको विशेष आकर्षण रहनेछ । कार्यक्रमकै अवसरमा स्ववियुले तयार पारेको स्मारिका विमोचन गरिने छ। साथै, यही वर्षको अन्त्यदेखि लागू हुने गरी स्ववियुले आफ्नै कोषबाट एक लाख रुपैयाँको अक्षय कोष निर्माण गर्ने घोषणा पनि गरिएको छ ।
उक्त अक्षय कोषको वृद्धि र दिगोपनाका लागि सहयोग जुटाउने उद्देश्यले समेत महोत्सव आयोजना गरिएको कार्कीले बताए ।