इलाम । अशोज १८ को वर्षात र बाढीपहिरोले इलाममा विद्युत प्रशारण लाइनमा ३ करोड बढीको क्षति पुगेको छ । क्षति भएको प्रशारण लाइन मर्मत गरि उपभोक्ताको घरमा विद्युत सेवा सुचारु भएपनि नियमति विद्युत सेवामा कठिनाइ भएको हो । अशोज १८ रातीको वर्षातपछिको बाढी पहिरोले इलामका १० वटै तहमा विद्युत सेवा ठप्प भएको थियो । १ सय ३२ केभि प्रशारण लाइनमा क्षति हुँदा सिंगो इलाम मात्रै अन्धकार भएको थियो ।
प्राधिकरणको ३३ केभि र १ सय ३२ केभि केन्द्रिय प्रशारण लाइनमा क्षति हुँदासदरमुकामसँगै ग्रामीण क्षेत्र अन्धकार भए । वर्षातपछि ३६ घण्टामै केन्द्रिय प्रशारण लाइन मर्मत गरि इलाम सदरमुकाममा विद्युत बालिएको थियो । प्राधिकरणले ९० प्रतिशत उपभोक्ताकोमा ३ दिनमा विद्युत सुचालु गरेको थियो । तर सबै ट्रान्सफर्मर संचालन गरि उपभोक्ताकोमा विद्युत बाल्न २ सातासम्म लागेको थियो ।
वर्षातपछिको बाढी पोहिरोले सडकसँगै धेरै विद्युतका पोल बगाएको छ । प्राधिकरणको प्रारम्भिक तथ्याङ्कमा ३ करोड बढी क्षति भएको छ । प्राधिकरणका प्राविधिक र स्थानीयबासीको समन्वयमा मर्मतपछि अहिले इलामका सबै उपभोक्ताको घरमा विद्युत सुचालु भएको छ । तर पहिरोले भौगोलिक अवस्था कमजोर बनाएकाले सामान्य हावाहरुका कारण पनि विद्युत अवरुद्धको समस्या हटेको छैन । फिडरहरुको प्रशारण लाइन लामो र नाङ्गो तारका कारण हावाहुरी चल्दा विद्युतमा अवरोध हुने गरेको विद्युत प्राधिकरण इलाम वितरण केन्द्रले जनाएको छ ।
पहिरोबाट प्राधिकरणको ११ हजार प्रशारण लाइनका ९० वटा विद्युतिय पोल बगेका थिए । ११ हजार भोल्टेजकै वितरण लाइनमा पर्ने २ सय ४९ पोलहरु पहिरोले बगाएको छ । बाढी र पहिरोले ५ वटा ट्रान्सफर्मर र ट्रान्सफर्मर राख्ने १० वटा पोलहरु बगाएको तथ्याङ्क छ । पहिरोबाट भत्किएका ११ हजार भोल्टेजका ३ सय ३४ वटा र वितरण लाइनका ४६ वटा पोलहरु पुनः प्रयोग गरि विद्युत सुचालु गरेको थियो ।
प्राधिकरणका फिडरहरुमध्ये सन्दकपुर फिरडको ३ किलोमिटर प्रशारण लाइन बगाएको छ । यहाँ साँखेजुङ्ग फिडरबाट लाइन जोडेर उपभोक्तामा वितरण गरिएको प्राधिकरका इञ्जिनियर सरोजकुमार चौधरीले बताए । नेपाल विद्युत प्राधिकरणको इलाममा पछिल्ला तीन वटा विपद्ले करोडौँको क्षति पुगेको छ । २०७८ अशोज, २०८१ अशोज र गत अशोज १८ को बाढी पहिरोले विद्युत प्राधिकरणका संरचनामा करोडौँको क्षति भएको हो । प्राधिकरणले समुदायको सहयोगमा क्षति भएको विद्युत विद्युत प्राशारण लाइन पनुः निर्माण सबै उपभोक्ताको घरमा विद्युत बालेको थियो ।
थप तस्बिरहरु :