इलाम । इलामको सानो टुडिखेलमा तरकारी बजार स्थापना गरेसंगै मार्सल आर्टसका खेलाडीहरुलाई प्रशिक्षण गर्न असहज भएको छ । नगरपालिकाकाले इलाम सिटी मार्ट भवन निमार्ण सुरु गरेसँगै विस्थापित भएका ६० जना व्यपारीहरुलाई सानो टुडिखेलमा बजार लगाउने व्यवस्था गरेको थियो । यो व्यवस्थासंगै निरन्तर कराँते, तेक्वान्दो, उसु खेलाडीहरुलाई प्रशिक्षण स्थल अभाव भएको हो ।
कराँते खेलाडी सुशान्त चापागाई फेसबुकमा लेख्छन “खेल र खेलाडी देश को गहना हुन भन्दै गर्दा खेलाडी ले खेल खेल्ने ठाउँ मा कब्बड हल अगाडि ट्रेनिङ स्थल मा सब्जीबजार राख्दै गर्दा ती खेल र खेलाडी प्रति को सम्मान यहि हो महोदय हरु ??? खेलाडी ले ट्रेनिङ गर्न नपायेर घर फर्किन्छ अनि टुर्नामेन्ट मा जादा उक्त खेलाडी बाट के अपेक्षा गर्ने रुरु यो दृश्य जिल्ला खेलकुद अगाडि कब्बड हल को हो । यसमा खेल खेल्ने ठाउ नपायेर येस्तो बिजोग रहेको छ संबंधित सरोकारवाला को गम्भीर ध्यानाकर्षण गराउछु !!! ठाउँ नभयेर सम्पुर्ण खेल को एकै ठाउँ ट्रेनिङ गराउदै” खेलकुद विकास समितीको मातहतमा एउटा कर्भड हल भएपनि मार्सल आर्टसका विधा, बक्सिङ लगायतको खेलको प्रशिक्षणका लागी स्थान अभाव हुने गरेको छ ।

जिल्ला कराँते संघका अध्यक्ष एवम अन्तराष्ट्रिय रेफ्री योगेश चाम्लिङ खेलकुद विकास समिती र खेलाडीलाई जानकारी बेगर बजार लगाउन गलत भएको बताउँछन । उनी भन्छन“ छोटो समयको लागी हो भने त ठिकै छ तर लामो समयसम्म बजार त्यही लगाउने हो भने चाही गलत भयो । ” खेलाडी र खेलकर्मीको समस्या चाडै समाधान गरिदिन उनले नगर प्रमुख महेश बस्नेत समक्ष आग्रह गरेका छन । प्रशिक्षण स्थल नभएपछि अहिले खेलाडीहरू तरकारी बजार बिचमा नै प्रशिक्षण गरिरहेका छन ।

यता वडा नं ७ का अध्यक्ष नरेश श्रेष्ठ अर्को व्यवस्था नहुन्जेलसम्मको लागी सानो टुडिखेलमा तरकारी पसल व्यवस्थापन गरिएको बताए । उनले भने “सिमित समयको लागी पसल लगाइएको हो । हामी विकल्पको अरु ठाँउ खोज्दैछौ ५÷७ दिनभित्रमा सवै समस्या हल हुन्छ ।” नगरपालिकाकाले साविकको तरकारी पसल भएको स्थानमा गुणस्तरिय र व्यवस्थित बजारका लागी नौ करोड ३८ लाख ५६ हजार एक सय ६९ रुपैया ५२ पैसाको लागतमा इलाम सिटी मार्ट भवन निर्माण सुरु गरेको छ । बिकोई भगवती जे.भी. इलामले २०७६ चैत्र ३० गते सम्पन्न गर्ने गरी भवन निर्माणको जिम्मा लिएको छ ।