इलाम । विशाल घलानको निर्णायक गोलको मद्धतमा पाँचथर क्लव पाँचथरले अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरी शनिश्चरे गोल्डकप–२०८२ को सेमिफाइनल प्रवेश गरेको छ ।
पाँचथरले संकटा क्लब काठमाडौंलाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरेको हो। खेलको दोस्रो मिनेटमै विशाल घलानले कप्तान रोशन आङ्म्बेको पासमा निर्णायक गोल गरे।
संकटा गत बर्षको उपविजेता टोली समेत हो । खेल अत्यन्त प्रतिस्पर्धात्मक बनेको थियो, जसमा खेलाडीबीचको विवादका कारण केही समय खेल अवरुद्ध पनि भएको थियो।
दुबै टिमका चार–चार खेलाडीले पहेँलो कार्ड प्राप्त गरे। पाँचथरका निरज कार्की, मौसम सुब्बा, आशिष चापागाईं र दिनेश हेन्जनले पहेँलो कार्ड पाए भने संकटाका मल्लिक, निङ्मा घिसिङ, सुजन चापागाईं र सुजन मगरले पनि कार्ड पाएका थिए।
पाँचथरका विशाल घलान ‘म्यान अफ दि म्याच’ घोषित हुँदै नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। भोलिको खेल न्यु रोड टिम ९एनआरटी० र झापा–११ बीच हुने बताइएको छ।
प्रतियोगिता कार्तिक २२ गतेसम्म सञ्चालन हुनेछ। विजेता टिमले ५ लाख रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्