इलाम । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले २०८२ साल असोज महिनाको “महिनाको सर्वोत्कृष्ट प्रहरी” (Best Police of the Month) को रुपमा इलाका प्रहरी कार्यालय नयाँबजार, इलाममा कार्यरत प्रहरी सहायक निरीक्षक रमेश कुमार चौधरीलाई चयन गरेको छ।
उक्त सम्मान चौधरीले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गरेको मूल्याङ्कनका आधारमा प्राप्त गरेका हुन्।
गत असोज १९ गते अविरल वर्षाका कारण इलामको माइजोगमाई गाउँपालिका–६ चाङ क्षेत्रमा आएको बाढी र पहिरोका बेला चौधरीले तत्काल उद्धार कार्यमा खटिँदै पहिरोमा पुरिएका ८ जनाको शव उत्खनन गरी निकाल्ने कार्य सफलतापूर्वक सम्पन्न गरेका थिए। साथै, माइजोगमाई गाउँपालिका–५ र ६ का २ जना सुत्केरी महिला र १ जना सिकिस्त बिरामीको हेलीमार्फत उद्धारमा पनि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
त्यसैगरी, बाढी–पहिरोका कारण क्षति पुगेको इलाका प्रहरी कार्यालय नयाँबजारका लागि उनले स्थानीय समाजसेवीहरूसँग समन्वय गरी ५० हजार रुपैयाँ मूल्य बराबरको फर्निचर तथा सामग्री उपलब्ध गराएका थिए। साथै, माइजोगमाईका विभिन्न क्षेत्रमा अवरुद्ध भएका सडकलाई पुनः सुचारू बनाउन स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकायसँग समन्वय गरी द्रुत गतिमा काम सम्पन्न गराएका थिए।