इलाम । सूर्योदय नगरपालिका कार्यालयकी सहयोगी रूपा राईको उपचारको क्रममा निधन भएको छ। गत शनिबार दिउँसो करिब ४ बजे सूर्योदय नगरपालिका–१०, आहाले नजिक अटो र पिकअप ठोकिँदा गम्भीर घाइते भएकी राईलाई बि एन्ड सी अस्पताल विर्तामोड लगिएको थियो।
सो अस्पतालले उपचार सम्भव छैन भन्दै फर्काएपछि उनलाई फिक्कल अस्पताल ल्याइएको थियो। फिक्कल अस्पतालमा स्वास्थ्य परीक्षणका क्रममा डाक्टरले पल्स र ब्लडप्रेशर भेटिएपछि उनलाई सघन उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा स्थानान्तरण गरिएको थियो। तर साेमबार बिहान करिब ४ बजे उपचारकै क्रममा उनको निधन भएको वडाध्यक्ष पेमा उगेन लामाले जानकारी दिए।
हाल राईको शव पोष्टमार्टमका लागि फिक्कल अस्पतालमा राखिएको छ। मुचुल्काको काम सकेर पोष्टमार्टमको तयारी रहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।
सबै जना बिदाको माहोलमा रमाइरहेका बेला एक जिम्मेवार कर्मचारीका रूपमा नगरपालिकाको विपत्तिसम्बन्धी काम सहज बनाउन कार्यालय पुगेकी राईको निधनले सूर्योदय नगरपालिकाका कर्मचारीहरू शोकमा छन्।