Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

बुढीगंगाको मार्बल फ्याक्ट्रीमा कार्यरत इलामका निरबहादूरको रहस्यमय मृत्यु

बुढीगंगाको मार्बल फ्याक्ट्रीमा कार्यरत इलामका निरबहादूरको रहस्यमय मृत्यु

  • सन्देश सम्बाददाता
  • शुक्रबार, कार्तिक ८ २०८२


बुढीगंगाको मार्बल फ्याक्ट्रीमा कार्यरत इलामका निरबहादूरको रहस्यमय मृत्यु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका ५ स्थित वाइसनो मार्बल फ्याक्ट्रीमा कार्यरत सेक्युरिटी गार्डको शङ्कास्पद मृत्यु भएको छ । प्रहरीले झुन्डिएर आत्महत्या गरेको प्रारम्भिक जानकारी दिए पनि परिवारले प्रक्रिया मिचेर शवको पोस्टमार्टम गरिएको भन्दै हत्याको आशङ्का गरेका छन् ।

इलामको सन्दकपुर घर भई हाल मोरङको बुढीगंगा–५ स्थित वाइसनो मार्बल उद्योग’मा सेक्युरिटी गार्डको रूपमा कार्यरत ४४ वर्षीय निरबहादुर राई बुधबार मृत अवस्थामा फेला परेका थिए । इलाका प्रहरी कार्यालय नेमुवाको प्रारम्भिक रिपोर्टमा राईले उद्योग परिसरमा फलामको बलमा बेल्टको पासो लगाई आत्महत्या गरेको दाबी गरिएको छ । तर, घटनाको प्रकृति र त्यसपछिका गतिविधिले मृत्युलाई थप रहस्यमय बनाएको भन्दै मृतकका आफन्तले आपत्ति जनाएका छन् । मृतकका भाइ महेश राईका अनुसार उनीहरूलाई बुधबार राति साढे ९ बजेतिर फ्याक्ट्रीका एक पदाधिकारीले फोन गरेर घटनाबारे जानकारी दिएका थिए ।

हामीलाई अस्पताल वा प्रहरीले नभई फ्याक्ट्रीबाट फोन आयो र शव कोशी अस्पतालमा राखिएको छ भनियो,’ उनले भने, त्यहाँ पुग्दा घटनाबारे हामीलाई अँध्यारोमा राखेर मृतककी श्रीमतीसँग मात्र सल्लाह गरी शव उठाइएको रहेछ ।’ परिवारका सदस्य र जनप्रतिनिधि बिहीबार जाहेरीसहित पोस्टमार्टमको प्रक्रियाका लागि कोशी अस्पताल पुग्दा शवको पोस्टमार्टम भइसकेको पाएपछि घटनाले नयाँ मोड लिएको हो । मृतक राईकै वडा सन्दकपुर–१ का वडाध्यक्ष रहरकुमार राईका अनुसार परिवारको रोहबर र प्रहरीको अनुमतिबिना नै शवको चिरफार गरिएको थियो । हामीले शव हेर्नुपर्छ भन्दा अस्पतालका कर्मचारीले आनाकानी गरे,’ उनले भने, पछि कर गरेर हेर्दा त हामी पुग्नुअघि नै, प्रक्रिया विपरीत पोस्टमार्टम सकिएको रहेछ । यो सरासर षड्यन्त्र हो ।’

परिवारले अस्पताल प्रशासन र पोस्टमार्टममा संलग्न डाक्टरले लापरबाही गरेको र घटना लुकाउन खोजेको आरोप लगाएको छ । हामीले पोस्टमार्टमका लागि कागजपत्र तयार गरेर ल्याएका थियौँ, तर यहाँ हाम्रो अनुमतिबिना नै शव चिरफार भयो,’ भाइ महेशले भने, हामीले प्रश्न गर्दा पोस्टमार्टममा संलग्न डाक्टर भागेका छन् र कर्मचारीहरू गैर जिम्मेवार जवाफ दिइरहेका छन् ।’

पीडित परिवारले घटनाको निष्पक्ष छानबिन गरी सत्य तथ्य बाहिर नआएसम्म शव नबुझ्ने अडान लिएको छ । यो आत्महत्या होइन, हत्या हुन सक्छ । बल प्रयोग गरेर झुन्ड्याइएको पनि हुन सक्छ,’ वडाध्यक्ष राईले भने, यो घटना अत्यन्तै रहस्यमय छ, हामीलाई चित्तबुझ्दो जवाफ र निष्पक्ष छानबिन नभएसम्म शव बुझ्दैनौँ ।’

मृतक निरबहादुर राई उक्त कम्पनीमा काम गर्न थालेको १५ दिन मात्र भएको थियो । उनको विवाह भएको पनि एक वर्ष मात्रै पुगेको परिवारले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट विशेषज्ञ टोली खटाएर अनुसन्धान अघि बढाएको जनाएको छ । तर, परिवारको सहमति विपरीत गरिएको पोस्टमार्टमले प्रहरी अनुसन्धानलाई समेत जटिल बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार