Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

भारी वर्षाका कारण सूर्योदय नगरपालिकामा ठूलो क्षति, कुन-कुन वडा के-कति क्षति

भारी वर्षाका कारण सूर्योदय नगरपालिकामा ठूलो क्षति, कुन-कुन वडा के-कति क्षति

  • गंगा पराजुली
  • मंगलबार, कार्तिक ५ २०८२


भारी वर्षाका कारण सूर्योदय नगरपालिकामा ठूलो क्षति, कुन-कुन वडा के-कति क्षति

निरन्तर वर्षाका कारण सूर्योदय नगरपालिका क्षेत्रका विभिन्न वडाहरूमा ठूलो क्षति पुगेको छ । नगरपालिकाको प्राविधिक शाखाले तयार पारेको प्रारम्भिक प्रतिवेदनअनुसार बाढीपहिरोका कारण घर, पशुधन, खेतीबाली, सडक तथा पुलमा ठूलो भौतिक र आर्थिक क्षति भएको हो। विपदबाट नगर क्षेत्रमा ६ जनाको ज्यान गएको छ । वडा नं १ मा ५ जना र वडा नं ९ को १ जनाको मृत्यु भएको हो । नगर क्षेत्रमा बाढी पहिरोबाट १ जना घाइते भएका छन् ।

त्यसैगरी नगर क्षेत्रका ३६२ परिवार विस्थापित भएका छन् । वडा नं १ मा ७ परिवार विस्थापित भएका छन् । वडा नं २ मा १२ परिवार, वडा नं ३ मा ११ परिवार, वडा नं ४ मा ८४ परिवार, वडा नं ५ मा १३ परिवार, वडा नं ६ मा १२ परिवार र वडा नं ७ मा १ परिवार विस्थापित भएका छन् । त्यसैगरी वडा नं ८ मा ५० परिवार, वडा नं ९ मा ९७ परिवार, वडा नं १० मा १४ परिवार, वडा नं ११ मा ३१ परिवार, वडा नं १२ मा २१ परिवार र वडा नं १३ मा ९ परिवार विस्थापित भएको नगरपालिकाको तथ्यांकमा उल्लेख छ ।

नगर क्षेत्रमा ४९ घरमा पूर्ण क्षति भएको छ भने ३१३ घरमा आंशिक क्षति पुगेको छ । वडा नं ४ र वडा नं ९ मा सबैभन्दा बढि घरमा पूर्ण क्षति पुगेको छ । वडा नं ५ र ६ मा कुनै पनि घरमा क्षति पुगेको छैन् । नगर क्षेत्रमा २ वटा बाच्छा बाच्छी, ६ वटा गाई गोरु, १७ वटा बाख्रा र भेडा, २ वटा सुँगुर, २७० केजी माछा र भुरा तथा १ सय वटा हाँस, टर्की र कुखुरा क्षति पुगेको देखिन्छ ।

नगरले सार्वजनिक गरेको विवरण अनुसार विपदबाट प्रभावित बनेका १४ मध्ये १३ वटा वडामा घर र पशुपंक्षीमा ११ लाख ५० हजार क्षति भएको देखिन्छ । वडा नं १ मा ७० हजार, वडा नं २ मा १ लाख २० हजार, वडा नं ३ मा १ लाख २० हजार, वडा नं ४ मा ३ लाख ५० हजार क्षति भएको छ । वडा नं ९ मा ४ लाख ३० हजार, वडा नं १० मा २० हजार, वडा नं ११ मा ७५ हजार क्षति भएको लागत अनुमान गरिएको छ । वडा नं ५,६,७,१२,१२ र १३ नम्बर वडामा लागत अनुमान शुन्य रहेको छ ।

कृषि क्षेत्रको रुपमा परिचित नगरमा गोठ, कटेरा र पोखरीमा २९ लाख ३० हजार रुपैया क्षति भएको विवरण सार्वजनिक भएको छ । २१ वटा गोठ र ४ वटा पोखरीमा क्षति पुगेको छ । सूर्योदय नगरपालिकामा चिया, अलैची, अम्लिसो, अदुवा, खुर्सानी, तरकारीबाली, किबी लगायतमा क्षति पुगेको छ । नगर क्षेत्रको कृषिजन्य उत्पादनमा कुल ६ करोड १२ लाख ६७ हजार क्षति भएको अनुमान गरिएको छ ।

वडा नं १ मा ८६ रोपनीमा १ करोड २२ लाख १७ हजार बराबरको क्षति अनुमान गरिएको छ । वडा नं २ मा ३९ रोपनीमा ३ लाख ९८ हजार बराबरको क्षति भएको छ । वडा नं ३ मा ७२ रोपनीमा ६ लाख ५० हजार ५ सय रुपैया रहेको छ । वडा नं ४ मा २८३ रोपनीमा ३ करोड १७ लाख बराबरको क्षति अनुमान गरिएको छ । वडा नं ५ मा १०७ रोपनीमा ५० लाख ५ हजार बराबरको क्षति अनुमान गरिएको छ । वडा नं ८ मा २४ रोपनीमा १० लाख १२ हजार बराबरको क्षति अनुमान गरिएको छ ।

वडा नं ९ मा ६५ रोपनीमा ५१ लाख ५० हजार बराबरको अनुमान गरिएको छ । वडा नं १० मा ११० रोपनीमा ४३ लाख ३४ हजार रुपैयाको क्षति पुगेको छ । वडा नं ११ मा २६ रोपनीमा क्षति भएको छ । वडा नं १४ मा ५ रोपनीमा ८ लाख बराबरको क्षति भएको देखिन्छ । नगर क्षेत्रमा २०९ वटा सडकमा ३ करोड २२ लाख १५ हजार बराबरको क्षति भएको छ । वडा नं १ मा १७ वटा सडकमा २५ लाख ५० हजार बराबरको क्षति भएको छ ।

वडा नं २ मा ८ वटा सडकमा ९ लाख ६० हजार, वडा नं ३ को १९ वटा सडकमा २८ लाख ५० हजार, वडा नं ४ को २० वटा सडकमा ३२ लाख ३० हजार, वडा नं ५ को १४ वटा सडकमा २३ लाख बराबरको क्षति अनुमान गरिएको छ । त्यसैगरी वडा नं ६ मा ७ वटा सडकमा ११ लाख ५० हजार, वडा नं ७ मा ७ वटा सडकमा १२ लाख २० हजार, वडा नं ८ को २३ वटा सडकमा ३४ लाख ५० हजार, वडा नं ९ को २१ वटा सडकमा ३१ लाख ५० हजार, वडा नं १० को २० वटा सडकमा ३१ लाख बराबरको क्षति अनुमान गरिएको छ ।

त्यसैगरी वडा नं ११ को ११ वटा सडकमा १७ लाख, वडा नं १२ को २१ वटा सडकमा ३३ लाख ७५ हजार, वडा नं १३ को १० वटा सडकमा १५ लाख २० हजार र वडा नं १४ को ११ वटा सडकमा १६ लाख ६० हजार क्षति अनुमान गरिएको छ । नगर क्षेत्रमा ४ वटा पक्की पुलमा ११ करोड २० लाख बराबर क्षति पुगेको देखिन्छ । नगर क्षेत्रको ८ वटा साना सिचाई आयोजनामा १७ लाख ४२ हजार ५ सय रुपैया बराबरको क्षति अनुमान गरिएको छ ।

नगर क्षेत्रको ३५ वटा खानेपानी आयोजनामा २ करोड २५ लाख बराबरको क्षति पुगेको छ । खानेपानी आयोजनामा पाइपमा मात्र १ करोड ३० लाख बराबरको क्षति अनुमान गरिएको छ । विपद फोकल पर्सन सृजन गदालका अनुसार क्षति भएका २०९ सडकलाई सुचारु गराउनका लागि सरसफाई र मर्मतका लागि ३ करोड ११ लाख रुपैया खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार