Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

यस्तो रहनेछ लक्ष्मीपूजादेखि भाइटीकासम्मको मौसम

यस्तो रहनेछ लक्ष्मीपूजादेखि भाइटीकासम्मको मौसम

  • सन्देश सम्वाददाता
  • सोमबार, कार्तिक ४ २०८२


यस्तो रहनेछ लक्ष्मीपूजादेखि भाइटीकासम्मको मौसम
  • मौसम विभागले तिहारको समयमा पश्चिमी वायुको सामान्य प्रभाव रहने जनाएको छ।
  • लक्ष्मीपूजाको दिन देशको अधिकांश भागमा मौसम सफा रहनेछ, तर केही स्थानमा वर्षाको सम्भावना छ।
  • भाइटीकाको दिन कोशी, मधेश र पहाडी क्षेत्रमा बदली रहने र उच्च हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुने सम्भावना छ।

इलाम । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तिहार अवधिका लागि पहिलो विशेष मौसम बुलेटिन जारी गरेको छ। महाशाखाका अनुसार यस वर्ष तिहारको समयमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि पश्चिमी वायुको सामान्य असर रहनेछ।

सो प्रभावका कारण देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने र एक-दुई स्थानमा फाटफुट वर्षा हुन सक्ने जनाइएको छ। साथै, उच्च हिमाली भूभागका केही भागमा हल्का वर्षा वा हिमपातको समेत सम्भावना छ।

कार्तिक ३ गते लक्ष्मीपूजाको दिन देशका अधिकांश भूभागमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ। तर कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा भने आंशिक बदलीसँगै एक(दुई स्थानमा फाटफुट वर्षा हुन सक्छ।

औँसीका दिन कार्तिक ४ गते पनि यस्तै मौसम रहँदै पहाडी क्षेत्रमा आंशिक बदली र अन्य स्थानमा सफा मौसम रहनेछ। कार्तिक ५ गते गोवर्धन पूजाका अवसरमा पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने र कोशी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

भाइटीका अर्थात् कार्तिक ६ गते देशका अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहने भए पनि कोशी, मधेश र अन्य पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ। साथै, सबै प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले तिहारका दिनहरूमा सामान्य बदली र हल्का वर्षाको सम्भावना रहे पनि समग्रमा मौसम मनमोहक रहने अनुमान गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार