इलाम । इलाम नगरपालिका–११ सोयाकस्थित महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा तेस्रो खुल्ला नक–आउट फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । नाम्दिङगो नालीफुङ्वा सन्जुम्भोको आयोजनामा आगामी कात्तिक ७ गतेदेखि १५ गतेसम्म प्रतियोगिता हुने भएको हो ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ आयोजना गरिएको यो प्रतियोगिताको टिम दर्ता खोलिएको छ । ९ साइडमा संचालन हुने प्रतियोगितामा आयोजकले १६ टिमलाई सहभागि गराउने लक्ष्य राखेको छ ।
खेलकुदमार्फत स्थानीय युवाहरूलाई अनुशासन, विकास र गतिशीलतामा प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका किशोर एक्तेनले जानकारी दिए ।
टिम दर्ता असोज ३१ गतेदेखि कात्तिक ४ गतेसम्म खुला गरिएको छ भने खेल तालिका कात्तिक ५ गते सार्वजनिक गरिनेछ । दर्ता शुल्क ४ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
विजेता टिमले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी र मेडल पाउनेछन् । साथै उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर र युवा खेलाडीलाई पनि ट्रफी र मेडलले सम्मान गरिनेछ ।