इलाम । नेपालले ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा ओमानलाई ३८ रनले पराजित गर्दै उपाधितर्फ कदम बढाएको छ।
नेपालको यो लगातार तेस्रो जित हो भने ओमानले पहिलो हार भोगेको छ।
अब नेपालले अन्तिम खेलमा सामाओलाई पराजित गरे प्रतियोगिता जित्नेछ।
यो सारांश ब्क्ष् द्वारा सिर्जना गरिएको हो।
काठमाडौँ — नेपालले ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा बुधबार ओमानलाई ३८ रनले पराजित गरेको छ । १ सय ५२ रनको लक्ष्य लिएर आएको घरेलु टोली ओमानले मस्कटको अल एमेरेट क्रिकेट मैदानमा ९ विकेट गुमाई १ सय १३ रनमात्र बनाउन सक्यो ।
सुपर सिक्समा नेपालको यो लगातार तेस्रो जित हो । ओमानले प्रतियोगितामा पहिलो पराजय भोगेको हो । नेपालको अब ८ अंक पुगेको छ भने ओमानको ६ अंक छ । नेपालले शुक्रबार हुने अन्तिम खेलमा सामाओलाई पराजित गरे प्रतियोगिता नै जित्नेछ ।
दिनको खेलको दुई नतिजा आफूअनुकूल आएपछि नेपाल र ओमान मैदानमा उत्रिनुअगाडि नै विश्वकपमा पुगेका थिए । नेपालको हकमा यो लगातार दोस्रो र कुल तेस्रो विश्वकप प्रवेश हो । बुधबारको पहिलो २ खेलमा कतारले जापानलाई ३ विकेटले र यूएईले सामाओलाई ७७ रनले पराजित गरेका थिए ।
सोमपाल कामीले ओमानका कप्तान जतिन्दर सिंहलाई तेस्रो ओभरमै आउट गरी नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । २ छक्का प्रहार गरेका जतिन्दरले ११ बलमा १४ रन बनाए । अर्को ओभरमा नन्दन यादवले अर्का ओपनर हमाद मिर्जालाई ४ रनमा आउट गरे ।
अमिर कलिमलाई दीपेन्द्रसिंह ऐरीले सिधा थ्रोमा १ रनमा रनआउट गरे । दीपेन्द्रले लगातार पाँचौं खेलमा सिधा थ्रोमा रनआउट गरेका हुन् । आर्यन विष्टले २४ बल खेली ११ रन बनाए । सन्दीप लामिछानेको बलमा उनी बाउन्ड्री लाइनमा वैकल्पिक फिल्डर आरिफ शेखबाट समातिए ।