इलाम । अशोज १८ को वर्षातपछिको पहिरोले इलाम अहिले विपद् संकटग्रस्त जिल्ला घोषणा भएको छ । इलाममा ठुलो धनजन र मानविय क्षति भएको छ । इलाममा मानविय क्षतिसँगै धेरै विपद्मा परेर धेरै पशुहरुको ज्यान जानुका साथै सयौँ पशुहरु घाइते भएका छन् । घाइते पशुहरुको उपचार र मरेका पशुहरुबाट रोग फैलन नदिन इलाममा पशु डाक्टरहरु सहितको टोली अहिले खटिन थालेको छ ।
इलाममा रहेको पशु भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले स्थानीय तहका पशु सेवा शाखाको समन्वयमा घुम्ति सेवा दिइरहेको छ । त्यससँगै भोलीबाट चारवटा टोली इलामका पालिकाहरुमा पशु डाक्टर सहित पशु स्वास्थ्यकर्मीहरुको टोली खटिने छ । इलाममा रहेको पशु भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख डा राघबेन्द्र तिवारी सहित ५ जनाको टोली अशोज १९ गतेदेखि नै घुम्ती सेवा प्रदान गर्दै आएको छ । टोलीले माई नगरपालिका, सूर्योदय नगरपालिका, इलाम नगरपालिका र देउमाई नगरपालिकामा घुम्ति सेवा प्रदान गरिएको प्रमुख डा राघबेन्द्र तिवारीले बताए । घुम्ती सेवामा उपचार सेवा, क्षतिग्रस्त पशुहरुको गोठ व्यवस्थापनका लागि त्रिपाल, आहाराका लागि दाना र मरेका पशुरुहरुबाट रोग फैलन नदिन औषधिहरु प्रदान गरिँदै आएको छ ।
घाइते पशुहरुको उपचारका लागि भोलीबाट चार वटा टोली परिचालित हुने उनले बताए । जिल्लामा रहेको इलाममा रहेको पशु भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रबाहेक पशुपक्षि रोग अन्वेशण प्रयोगशाला विराटनगर र पशुपक्षि तथा मत्स्य विकास निर्देशनालय विराटनगरबाट डाक्टर अनित घिमिरे सहितको ५ जनाको टोली समेत इलाममा घाइते पशुहरुको उपचारमा खटिएको छ । त्यसैगरी नेपाल भेटेरीनरि एशोसिएसन, भेटेरीनरी औषधी व्यवसायीहरुको ५ जनाको टोली डा सिताराम यादवको नेतृत्वमा उपचारमा खटिरहेको छ ।
त्यसैगरी संघीय सरकारको पशु सेवा विभाग, केन्द्रिय भेटेरीनरी अस्पताल, (एफ ए ओ) बाट डाक्टर सहितको स्वास्थ्यकर्मीको टोली इलाम आज आइपुग्नेछ । टोली इलाम आएपछि भोलीबाट स्थानीय तहमा घुम्ति सेवा प्रदान गर्ने तयारी रहेको छ । भोली मंगलबार माईजोगमाई गाउँपालिका, बुधबार देउमाई नगरपालिका र शुक्रबार सन्दकपुर गाउँपालिकामा घुम्ति सेवा प्रदान गर्ने कार्यतालिका बनिएको छ ।
थप तस्बिरहरु :