इलाम । गत असोज १८ गतेको अविरल वर्षापछि देशभरकै सबैभन्दा बढी क्षति इलाममा भएको थियो । बाढी, पहिरो र सडक अवरुद्धजस्ता घटनाले इलामका १० वटै पालिकाका अधिकांश बस्तीहरू प्रभावित भएपछि संघीय मन्त्रीहरूको टोली इलाममा अनुगमनका लागि आउन लागेको हो ।
गृह मन्त्री ओम प्रकाश अर्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ, र सचिव केशव कुमार शर्मा सहितको टोलीले असोज २५ गते इलामको विभिन्न स्थानको निरीक्षण गर्ने कार्यक्रम तय गरिएको छ । यसअघि पनि मन्त्रीहरु असोज २० गते इलाम आउने भनिएपनि प्राविधिक कारणले आउन सकेका थिएनन् ।
कार्यक्रम अनुसार इलाम नगरपालिका–१० स्थित माइटापुमा विस्थापित ३६ घरधुरीका प्रभावित परिवारहरुको स्थलगत निरिक्षण र राहत वितरणदेखि मेची राजमार्गको माईखोला–इलाम सडकखण्ड अवलोकन, इलाम नगरपालिका क्षेत्रको मिलगोलाईसम्मको स्थलगत निरीक्षण तथा स्थानीय अधिकारीहरूसँग बैठक गर्ने कार्यतालिका छ ।
मन्त्रीस्तरीय टोलीले जिल्ला प्रशासन कार्यालयमा समन्वय बैठक गर्दै प्रभावित क्षेत्रको राहत तथा पुनर्निर्माण प्रक्रियाको मूल्याङ्कन गर्नेछ । इलाममा अघिल्लो सातादेखि राहत वितरण कार्य जारी रहे पनि अझै धेरै प्रभावित परिवारहरू अस्थायी टहरामा बस्दै आएका छन् ।
संघीय मन्त्रीहरूको यो भ्रमणबाट तत्काल राहत र पुनर्निर्माणको प्रक्रियामा गति आउने अपेक्षा गरिएको छ ।