इलाम : नेपाल–भारत सिमानाको मानेभञ्ज्याङ बजार। घरहरू एक अर्कासँग जोडिएर बसेका, घाम लाग्दा चम्किने टिनका छाना, अनि तलतिर भारतको बस्ती झल्किने दृश्य। एक तर्फ इलामको सूर्योदय नगरपालिका–१ र अर्को तर्फ पश्चिम बंगालको दार्जिलिङ जिल्लाको बजार। संयुक्त रुपमा दुवै ठाउँलाई मानेभञ्ज्याङ भनेर चिनिन्छ।
सडकले चिरेर गएको बजारलाई भौगोलिक रुपमा २ देशमा विभाजन गरे पनि व्यवहारिक रुपमा समानता नै थियो। सडक र जंगे पिलरले मात्र राष्ट्रियता विभाजन गरेको थियो। त्यही बस्ती थियो मीरा शिवाकोटी र उनका श्रीमान कृष्णबहादुर बुढाथोकीको सानो घर।
बजारबाट करिब २ मिनेट सानो गोरेटो बाटो उक्लिएपछि आउने घरको वरिपरी स्कुसका झ्यालहरूले छोपिएको थियो। घर भन्दा माथि सानो भिर र घर भन्दा तल सानो भिर थियो। श्रीमान, श्रीमती, आमा र २ छोरी हाँसी खुशी रमाएका थिए। कृष्ण पर्यटकलाई घुमाएर केही कमाएर ल्याउँथे मीरा सासु र छोरीहरूको रेखदेखमा समय बिताउँथिन्। तर असोज १८ गतेको रात, त्यो घरले कहिल्यै नबिर्सिने क्षण देख्यो।
दशैँको एकै रातमा त्यो घर हाँसोबाट रुवाइमा डुब्यो। असोज १८ गतेको त्यो रात मीरा शिवाकोटीका लागि कालरात्री बनेर आयो। उनी घरको एउटा कोठामा सानी छोरीसँग सुतिरहेकी थिइन्। बाहिर वर्षा परिरहेको थियो, पहाडहरू धुवाँझैँ देखिन्थे। तर मध्यराततिर आएको एक झट्काले उनको जीवन नै उल्ट्याइदियो।
यही घरमा मीरा शिवाकोटीका ६६ वर्षीया सासु मनमाया बुढाथोकी र १० वर्षीया छोरी रस्मिका बुढाथोकी को ज्यान गयो। त्यही रात, दशैँंको टिका लगाउन पाहुना भएर आएका दोलखाको बैतेश्वर गाउँपालिकाका दिप बस्नेत (४७), उनकी श्रीमती भवानी बस्नेत (४४) र १२ वर्षीया छोरी दिव्या बस्नेत समेत पहिरोले घरमै पुरिए।
खर्साङमा ज्याला मजदुरी गर्दै आएका बस्नेत आफ्नी श्रीमती भवानी र १२ वर्षीया छोरी दिव्यासहित मीराको घरमा आइपुगेका थिए। साँझ पर्नासाथ वर्षा सुरु भयो। पहाडको माथिबाट चट्याङसँगै पानीको आवाज सुन्न सकिन्थ्यो। तर यहाँका मानिसहरू वर्षा र पहिरोसँग बाँच्न सिकेका थिए त्यसैले कसैले सोचेन, त्यो वर्षा कहर बन्न सक्छ भनेर।
दीप बस्नेत परिवार दशैँंको टीकाको लागि सानीमाकोमा आएका थिए। घरभित्र दुई वटा कोठा थिए, जहाँ दुवै परिवार सुतेका थिए। मीरा आफ्नो सानो छोरीसँग अर्को कोठामा थिइन्, जबकि सासु, ठूली छोरी र पाहुना परिवार अर्को कोठामा।
त्यो रातको पहिरो राति करिब २ बजेतिर गएको बताइन्छ। भिजेको माटो र लगातारको वर्षाले पहाड ढल्काएको थियो। घरमाथिबाट आएको पहिरोले सबथोक एकैचोटि नष्ट गर्यो। ‘मेरो रुममा झ्ल्याकझुलुक गड्याङ गुडुङ गर्योे, घर पुरै हलियो,’ मीराले काँपेको स्वरमा सुनाइन्, ‘पहिले लाग्यो आमालाई चट्याङ हानेछ। आमालाई बोलाएर नबोलेपछि ढोका खोल्न खोज्दा माटोले पुरिएर ढोका टाइट भइसकेको रहेछ। म सुतेको कोठाको झ्यालबाट सानो नानीलाई तानेर बाहिर निकालेँ,’ उनले ढोका लात्ताले हानिन्, तर खुलेन।
छेउमा सुतेकी सानी छोरी उठेकी थिइन्, डरले टाउको मीराको काँधमा लुकाएकी थिइन्। मीराले सोचिन् — ‘चट्याङ हान्यो भने म र सानो नानी मर्छौं, ठूली नानी त मागेर पनि खान सक्छे।’ त्यो बेला उनलाई थाहा थिएन त्यो आवाज चट्याङसँगै पहाड खस्ने संकेत थियो। मीराका श्रीमान कृष्णबहादुर बुढाथोकी ती दिन ट्रेकिङका लागि पर्यटकहरूसँग भारततर्फ गएका थिए। उनी घरमै भएका भए, सम्भवतः उनी पनि त्यो पहिरोमा पुरिन्थे। मीरा र उनकी सानी छोरी समयमा नै बाहिर निस्किएका कारण बाँच्न सफल भए।
‘म ननिस्किएको भए नानी र मलाई पनि पुर्ने रहेछ। चट्याङ हान्यो भनेर निस्किएपछि थाहा भयो त्यो त पहिरो रहेछ।’ बिहानको प्रकाशले जब मानेभञ्ज्याङ बजार उज्यालो पार्यो , स्थानीयहरू स्तब्ध बने।
नेपाल प्रहरी, सशस्त्र प्रहरी ९एपीएफ० र भारतको सीमा सुरक्षा बल (एसएसबी) ले संयुक्त रूपमा उद्धार सुरु गरे। ४ जनाको प्राण त्यही घर भित्रै गइसकेको थियो। दीपको भने ढुकढुकी बाँकी नै थियो। एसएसबीको एम्बुलेन्समा उपचारका लागि अस्पताल नपुर्याउँदै उनले पनि अन्तिम स्वास छाडे।
काजक्रियास्थलमा भेटिएका स्थानीय भन्दै थिए ‘एकै घरमा दुई परिवारको लास भेटिँदा गाउँ नै रोयो। दशैँंमा टीका लगाउन आएका पाहुनालाई धरतीले नै गाड्यो।’ मृतक परिवार भेट्न पुगेकी प्रदेश सांसद खिनु लङ्वा लिम्बुले राहतको निम्ति पहल गर्ने बताइन्।
प्रदेश बाहिरका ३ जना मृतकको राहतका निम्ति बागमती प्रदेशसँग पहल गर्न आफू प्रतिवद्ध भएको बताइन्। मानेभञ्ज्याङ जस्तो पहाडी बजारमा यस्तो घटना नौलो होइन। बर्खाको हरेक मौसममा यहाँका घरहरू असुरक्षित हुन्छन्। पहाडमा भिरमा अडिएका घरमा हरेक रात त्रासमा बित्छ। सरकारले राहत घोषणा गरे पनि, पहाडको घाउ अझै बाँकी छ।
नजिकैको भवनमा काजक्रियामा बसेका छन् मीरा र कृष्ण। मीरा अझै पनि रात परेपछि निदाउन डराउँछिन्। कृष्णबहादुर एक छाक मीठो मसिनो खाने र छोरीहरूको भविष्य बनाउन ट्रेकिङका लागि पर्यटकसँग भारततर्फ गएका थिए, फर्किएपछि घरको भग्नावशेष देख्दा मन थाम्न सकेनन्।
यो कथा केवल एउटा परिवारको पीडा होइन देशका सयौँ पहाडी गाउँको साझा नियति हो। जहाँ दशैँंको जमरा सुक्न नपाउँदै, माटोले घर र परिवार एकै झट्का विलिन गराइदिन्छ।