Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिकालाई विभिन्न संस्थाबाट राहत सामग्री हस्तान्तरण

सूर्योदय नगरपालिकालाई विभिन्न संस्थाबाट राहत सामग्री हस्तान्तरण

  • सन्देश सम्वाददाता
  • बुधबार, असोज २२ २०८२


सूर्योदय नगरपालिकालाई विभिन्न संस्थाबाट राहत सामग्री हस्तान्तरण

फिक्कल । असोज १८ गते राति भएको अविरल वर्षाका कारण सूर्योदय नगर क्षेत्रका बासिन्दा प्रभावित भएपछि विभिन्न संघ–संस्थाले राहत सामग्री उपलब्ध गराएका छन् । मानवीय र सम्पत्तिमा भएको क्षति प्रति सहानुभूति जनाउँदै स्थानीय संघ–संस्थाहरूले प्रभावित परिवारहरूलाई सहयोग स्वरूप नगरपालिकालाई राहत सामग्री बुझाएका हुन्।

नगरपालिकालाई बुझाइएको राहत सामग्रीमा खाद्यान्नदेखि घरायसी प्रयोगका सामानहरू सम्म समावेश छन् । नगर प्रमुख रण बहादुर राई, उपप्रमुख दुर्गाकुमार बराल, प्रमुख प्रशासकिय अधिकृत अमृत राई लगायतले राहत सामाग्री ग्रहण गरेका थिए ।

युनाइटेड फिक्कल क्लबले ६ सय केजी चामल, ६० लिटर तेल, ४० केजी नुन र ४० केजी दाल उपलब्ध गराएको छ । त्यस्तै सीनियर टिम फिक्कल (एसटीएफ) ले २० थान एकमुखे चुलो र सूर्योदय जेसिसले २० थान ब्ल्याङकेट उपलब्ध गराएको छ ।

अंकुर भेराइटिज सेन्टर फिक्कलले २० थान ठुलो स्टीलको थाल, ४४ थान गिलास र २० थान बटुका प्रदान गरेको छ ।
सुब्बा आयुर्वेदिक, लोकेश सुब्बा लोकसमले २० थान स्टिमर (कित्ली) उपलब्ध गराएको छ भने फिक्कल अस्पताल प्रा.लि.का सञ्चालक राजेन्द्र ४० थान डिनर सेट (स्टीलको थाल) उपलब्ध गराएका छन् ।

यस सहयोगमार्फत प्रभावित परिवारलाई तत्काल राहत पु¥याउने उद्देश्य राखिएको जनाइएको छ । राहत सामग्री बुझाउने क्रममा स्थानीय संघसंस्थाका प्रतिनिधिहरूले विपद्का घडीमा एकअर्काको साथ र सहकार्य नै सबैभन्दा ठूलो शक्ति हुने बताएका थिए ।

नगरपालिकाले यस्ता सहकार्य र सहयोगलाई प्रशंसा गर्दै विपद् व्यवस्थापनका क्षेत्रमा सामूहिक प्रयास आवश्यक रहेको बताएको छ । जनप्रतिनिधि र कर्मचारीहरुले राहत सामाग्री पिडितहरु माझमा निष्पक्ष रुपमा पुर्याउन प्रतिवद्धता जनाए ।

राहत हस्तान्तरणमा वडा नं ९ का अध्यक्ष देवेन्द्र शर्मा, वडा नं १० अध्यक्ष पेमा उगेन लामा, युनाइटेड फिक्कलका अध्यक्ष चन्द्र फागो, जेसिस अध्यक्ष कविन सापकोटा, एसटिएफका विकास प्रधान, राजन प्रधान, शरण फागो लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार