इलाम । कोशी प्रदेशकी सांसद खिनु लङवा लिम्बुले मानेभञ्ज्याङ पहिरोमा मृत्यु भएकाको परिवारलाई भेटेकी छन् । नेपाल–भारत सिमानाको सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा गत असोज १८ गतेको अविरल बर्षाबाट मृत्यु भएका ५ जनाको परिवारलाई भेटेकी हुन् । लङ्वाले पिडित परिवारलाई भेटेर प्रदेश सरकारबाट राहतको लागि आफुले पहल गर्ने बताइन् ।
उनले प्रदेश सरकारबाट मृतक परिवारलाई राहत बापत १ लाख ५० हजार रुपैया प्रदान गरिने बताइन् । उनले कोशी प्रदेश भन्दा बाहिरका मृतकको हकमा सम्बन्धित प्रदेशमा सिफारिस गरिने बताइन् । गत असोज १८ गते आएको पहिरोबाटै एकै घरमा ५ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेहरुमा ६५ बर्षिया मनमाया क्षत्री, रस्मीका क्षेत्री सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङका रहेका छन् ।
त्यसैगरी दोलखा जिल्लाको बैतेश्वर गाउँपालिकाका ४७ बर्षिय दिप बस्नेत, श्रीमती ४४ बर्षिया भवानी बस्नेत र छोरी १२ बर्षिया दिव्या बस्नेत रहेका छन् । भारतमै मजदुरी गर्दै आएका दिपका परिवार सानी सासुको घरमा टिका लगाउन मानेभञ्याङ आएका थिए ।
