रोङ । कुटिडाँडा हाँसपोखरी पाथिभरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको तेस्रो साधारणसभा शनिबार रोङ–३, कुटिडाँडामा सम्पन्न भएको छ। कार्यक्रम समितिका अध्यक्ष रोहित कुमार गुरुङको सभाध्यक्षतामा सम्पन्न भएको थियो। सभामा प्रमुख अतिथि रोङ गाउँपालिकाकी उपाध्यक्ष बिष्णुमाया खवास रहनुहुन्थ्यो। विशेष अतिथि वडा नं ३ का वडा अध्यक्ष मात्रिका बराल, कुटिडाँडा टोल विकास संस्थाका अध्यक्ष मिलन भुजेल, शान्ति निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक भुपाल खड्का, जिल्ला खेलकुद विकास समितिका प्रमुख योगेश चाम्लिङ लगायत स्थानीय अगुवा तथा उपभोक्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।
सभामा प्रस्तुत प्रतिवेदन अनुसार समितिले चालु आ व मा ६ लाख १८ हजार १ सय ४० रुपैयाँ आम्दानी गरेको छ भने ६ लाख १ हजार ५ सय ६० रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ। बाँकी रकम आगामी योजनाहरू तथा मर्मत–सम्भार कार्यका लागि कोषमा सुरक्षित गरिएको जानकारी दिइयो।
समितिले हालसम्म १३० उपभोक्तालाई नियमित खानेपानी सेवा पुर्याइरहेको छ। अबका दिनमा वितरण प्रणालीलाई अझ सुदृढ गर्ने, नयाँ ट्याङ्की निर्माण गर्ने, आवश्यक स्थानमा पाइप विस्तार गर्ने र पानी शुद्धिकरण संयन्त्र थप्ने योजनाहरू सार्वजनिक गरिएको छ। साथै, सरसफाइ सचेतनामूलक कार्यक्रम सञ्चालन गरी स्थानीयलाई दिगो खानेपानी तथा सरसफाइ अभियानमा सहभागी गराउने लक्ष्य लिइएको छ।
सभाध्यक्ष गुरुङले समितिको विगतको उपलब्धि र आगामी चुनौतीबारे प्रकाश पार्दै भन्नुभयो, “हामीले विगतका वर्षहरूमा उपभोक्ताको सहयोग र सामूहिक प्रयासका कारण खानेपानी व्यवस्थापनलाई निरन्तर अघि बढाउन सफल भएका छौँ। अहिलेको मुख्य लक्ष्य भनेकै सेवाको दायरा थप विस्तार गर्ने, गुणस्तरीय र सुरक्षित खानेपानी वितरण गर्ने तथा सरसफाइमा समुदायलाई अझ सचेत बनाउनु हो। समितिको योजना कार्यान्वयनमा सबैको साथ–सहयोग अपरिहार्य छ।”
प्रमुख अतिथि उपाध्यक्ष खवासले गाउँपालिकाले खानेपानी र सरसफाइलाई उच्च प्राथमिकतामा राखेको भन्दै समितिको योजनामा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। वडाध्यक्ष मात्रिका बरालले खानेपानी जस्तो आधारभूत सुविधाको दिगो व्यवस्थापनका लागि स्थानीय स्तरमै जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभयो। अन्य वक्ताहरूले सामुदायिक सहभागिता र पारदर्शी व्यवस्थापनकै कारण समितिको कामले राम्रो प्रगति हासिल गर्न सकेको उल्लेख गर्दै निरन्तर सहयोग गर्ने आश्वासन व्यक्त गरे।
