फिक्कल । जेनजी आन्दोलनको देशभर शोक बिदा घोषणा गरिएको दिन, सुर्योदय नगरपालिका–९ मा सहादत प्राप्त युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विशेष कार्यक्रम सम्पन्न गरिएको छ । वडा कार्यालय र जेनजी पुस्ता सहित टोल विकास संस्थाहरूको सहकार्यमा आयोजित कार्यक्रममा “एक शहीद, एक बिरुवा” अभियान सञ्चालन गर्दै ५५ भन्दा बढी बिरुवाहरू रोपिएका छन् ।

हरेक बिरुवा एक शहीदको नाममा समर्पित गरिएका थिए। बिरुवासँगै टिनको प्लेटमा “यो जीवन तिमीलाई समर्पित, हामी वाचा गर्छौं – देश बनाउने छौं” भन्ने सन्देश अंकित गरिएको थियो । साथै साँझ (मौन मार्च आयोजना गरिएको थियो।
नारा र जुलुसविहीन यो मौन श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरूले बोकेका प्लेकार्डमा “उनीहरूको रगतले देश बनोस्” भन्ने भाव अंकित थियो । शोकलाई क्रियात्मक चेतनामा रूपान्तरण गर्दै जेनजी पुस्ताको बलिदानलाई सम्मानपूर्वक स्मरण गरिएको वडाध्यक्ष देवेन्द्र शर्माले जानकारी दिए ।

समुदायमा शान्तिपूर्ण र आशावादी सन्देश प्रवाह गर्दै श्रद्धाञ्जलीलाई केवल स्मृति मात्र नभई संकल्पको रूपमा प्रस्तुत गरिएको छ । सहभागीले शहीदको सपना अब सम्पूर्ण पुस्ताको साझा सपना भएको उल्लेख गर्दै देश निर्माणमा प्रतिवद्ध रहने बताए ।

