इलाम । एफसी फुटसल एसियन कप छनोट प्रतियोगितामा सहभागिता नजनाएका कारण नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ ९एन्फा० लाई कार्बाही गरेपछि फुटसल निर्देशक राज महर्जनले राजीनामा दिएका छन् ।
उनले बिहीबार एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई पत्र मार्फत जिम्मेवारी त्याग्ने निर्णय लिएको जनाकारी गराएका हुन् । महर्जनले सचिवालयको लापरवाहीको कारणले प्रतियोगितामा नेपालको सहभागित नरहेको आरोप लगाएका छन् ।
‘अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल निर्देशकको रूपमा दिनु भएको जिम्मेवारीको लागी धन्यवाद । एसियन फुटबल महासंघको आयोजनामा हुने एएफसी फुटसल कप २०२६ छनोटमा नेपालको तर्फबाट भाग नलिएपछी नेपाललाई कार्बाही गरिएको खबर मिडिया मार्फत जानकारी पाउँदा मलाई एकदम गहिरो पिडा महसुस भएको छ । फुटसल विभाग प्रमुखको रूपमा यस प्रतियोगिता सम्बन्धित सबै काम कार्बाही समयमा नै सचिवालयमा बुझाउँदा सचिवालयले फुटसलको लागि कुनै पनि बजेट विनियोजन नगरेको कारण प्रतियोगिताबाट नाम फिर्ता लिन बाध्य भएको जनकारी गराउन चाहन्छु । सचिवालयको यस्तो लापरवाहीको कारणले नेपाललाई कारबाही स्वरुप १० हजार डलर जरिवाना र अर्को पटकको छनोटमा समेत भाग लिन नपाउने गरी कार्बाही गरिएको हुनाले यस्तो गैह्रजिम्मेवार सचिवालय अन्तर्गत पदमा रहेर काम गर्न नसकिने हुनाले आजको मिति देखि लागु हुने गरी मेरो पदबाट राजीनामा दिएको व्यहोरा जानकारी गराउदछु,’ महर्जनले लेखेको पत्रमा भनिएको छ ।
एसियाली फुटबल महासंघ ९एएफसी०को अनुशासन तथा नैतिकता समितिको अगस्ट २१ गते बसेको बैठकबाट एन्फालाई १० हजार अमेरिकी डलर जरीवानासहितको कार्बाही गरिएको हो । एएफसीका अनुसार छनोट प्रतियोगिता सुरु हुनुभन्दा १०६ दिन अगाडि नेपालले आफ्नो नाम फिर्ता लिएको थियो । जसका कारण एन्फालाई एएफसी फुटसल एसियन कप इन्डोनेसिया २०२६ को धारा ६.७ अन्तर्गत अपराधी ठहर गरिएको हो ।
एएफसी अनुशासन तथा नैतिकता संहिताको धारा ११.३ बमोजिम कार्बाहीको निर्णय सूचित भएको मितिबाट ३० दिन भित्र जरीवाना तिनुपर्ने नियम छ । तर, स्रोतका अनुसार एन्फाले सो रकम अहिलेसम्म पनि तिरिसकेको छैन । एन्फाले गत वैशाख २२ देखि जेठ ५ सम्म ‘अन्तर विद्यालय फुटसल च्याम्पियनसिप’ आयोजना गरेको थियो । त्यस प्रतियोगिताबाट सम्भावना भएका खेलाडी र राष्ट्रिय खेलाडीलाई समेट्दै एन्फाले छनोट प्रतियोगिताका लागि तयारी थालेको थियो ।
प्रारम्भिक छनोटका लागि लागि खेलाडी बोलाइएको थियो । तर, एन्फाले प्राविधिक कारण देखाउँदै प्रशिक्षण सुरु हुन नपाउँदै बन्द गरेको थियो । फुटसल एसियन कप आगामी जनवरी २७ देखि फेब्रुअरी ७ सम्म इन्डोनेसियामा हुँदैछ । दुई शहरमा आयोजना हुने प्रतियोगितामा १६ टोलीको सहभागिता रहनेछ ।
छनोट प्रतियोगितामा सहभागी ३१ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । सिंगल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि समूहको शीर्ष स्थानमा रहने टोली एसियन कपमा सोझै छनोट हुनेछ । त्यस्तै सात उत्कृष्ट उपविजेता टोलीले पनि इन्डोनेसियाको टिकट काट्नेछ । छनोट प्रतियोगिता सेप्टेम्बर २० देखि सुरु हुँदैछ ।
