इलाम । पूर्व नेपालको मनमोहक प्राकृतिक सौन्दर्यले भरिपूर्ण सन्दकपुर-५ ईङ्ला जमुना गाउँको सुन्दरतालाई समेटेर तयार गरिएको नयाँ गीत गत हप्ता युट्युब च्यानल स्टुडियो किंग मार्फत सार्वजनिक भएको छ।
यस गीतमा नन्दु गुरुङ र इन्द्रकला राईको स्वर सुन्न सकिन्छ, जसले गीतलाई थप जीवन्त र भावपूर्ण बनाएको छ। गीतको शब्द रचना युवा राजनीतिकर्मी एवं पूर्व संचारकर्मी कुमार गुरुङले गरेका हुन्। उनले यस गीतमार्फत ईङ्ला जमुनाको हरियाली, पहाड र नदी किनारको रमणीय दृश्यलाई संगीतमा जीवन्त रूपमा प्रस्तुत गरेका छन्।
कुमार गुरुङका अनुसार, “पूर्व नेपालको सांस्कृतिक र प्राकृतिक सम्पदालाई गीतमार्फत विश्वसामु प्रस्तुत गर्नु मेरो उद्देश्य हो। यसअघि पनि मैले केही लोकप्रिय लोकगीतहरू रचना गरी सार्वजनिक गरिसकेको छु, र आगामी दिनमा अझ धेरै मौलिक गीतहरू सार्वजनिक गर्ने तयारीमा छु।”
गीतले इलामको रमणीय दृश्य, पहाडी जीवनशैली र स्थानीय संस्कृतिलाई दर्शक–श्रोतासम्म पुर्याउने प्रयास गरेको छ। ग्रामीण सौन्दर्यसँगै लोकसंगीतको मौलिकता समेटिएको यस गीतले श्रोताहरूमा ईङ्ला जमुनाप्रति आकर्षण र सांगीतिक आनन्द दुवै दिने अपेक्षा गरिएको छ।
स्थानीय समुदायले पनि गीतलाई उत्साहका साथ स्वागत गरेका छन्। उनीहरूले भने, “यो गीतले हाम्रो गाउँको प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानलाई विश्वसामु चिनाउने अवसर दिएको छ।”
तल लिंक सहित राखिएको छ।