इलाम । तोकिएको म्यादमा सम्पन्न नभएपछि डेनमार्क सरकारको सहयोगमा निर्माण शुरु भएका सडक योजना अलपत्र परेका छन् । आठमध्ये ६ सडक निर्माणको जिम्मा पाएका ठेकेदार र उपभोक्ता समितिले काम नगर्दा अलपत्र परेका हुन् । १५ असारसम्ममा बनाइसक्नुपर्ने ती सडकको आधा मात्रै सम्पन्न भएको छ ।
तोकिएको समयमा निर्माणको काम नभएपछि नभएपछि बजेट फिर्ता जाने भएको छ । डेनमार्क सरकारले उन्नति समावेशी वृद्धि कार्यक्रमबाट जिल्ला प्राविधिक कार्यालय अन्तरगत लगानी गरेको हो । तोकेको म्यादमा काम नगरेपछि परियोजनाले थप लगानी नगर्ने भएपछि पूरा नभएका सडक अलपत्र हुने भएका हुन् ।
आठमध्ये फिक्कल–नयाँबजार, बरबोटे–कट्टेबुङ, नेपालटार–पुवामझुवा, जितपुर बजार–साङरुम्बा, देउराली–कालभोटे, गाग्रेभञ्ज्याङ्ग–चिसापानी दोस्रो प्याकेज र जितपुर–अम्बोटे सडक तोकिएको समयमा निर्माण सम्पन्न भएका छैनन् । १५ असारपछि स्थानीय तहलाई जिम्मा लगाउनुपर्ने सडक निर्माण कसरी पुरा पर्ने भन्ने बिषयमा दाता र केन्द्रिय सरकार निर्णयमा पुग्न सकेका छैनन् ।
इलामका स्थानीय तहका प्रमुखहरू भने निर्माण सम्पन्न नभएर अलपत्र परेका सडकलाई निर्माण पुरा गर्ने श्रोत सहित जिम्मा लगाउनुपर्ने बताउँदै आएका छन् । आठमध्ये संझौता भएको गाग्रेभञ्ज्याङ्ग–चिसापानी पहिलो प्याकेजको १६ किलोमिटर र सूर्योदयन नगरपालिका स्थित पालटाँगे सिद्धिखोला ३३ मिटर सडक निर्माण भएको उन्नती परियोजना फिल्ड अपिस इलामका भौतिक संरचना विज्ञ नारायण केसिले बताए ।
दुई वर्षअघि सम्झौता भएको १९ किलोमिटर लामो फिक्कल–नयाँबजार सडक करिब ५५ प्रतिशत मात्र काम भएको छ । यो सडक १४ करोड ४६ लाख ३४ हजार रुपैयाँमा नागार्जुन निर्माण कम्पनीलाई ठेक्का दिएको थियो ।

सडकको कल्भर्ट, नाली, ग्याबिन पर्खाल निर्माणको काम धेरै भएपनि सबबेस लगाउने काम पूरा भएको छैन । निर्माण पुरा नहुँदा वर्षातको पानीले १९ किलोमिटर मध्ये सडकको आधा क्षेत्र हिलाम्मे भएको छ ।
पाँच किलोमिटर लामो वरबोटे–माझगाउँ–कट्टेबुङ सडकको काम ५० प्रतिशत मात्र काम भएको छ । दुई करोड ९२ लाख ४१ हजार रुपैयाँमा ब्राइट कुवर जेभीले निर्माणको जिम्मा पाएको थियो । नाली र कल्भर्टको काम धेरै भएपनिे रिटेनिङ्ग वाल र सब बेस लगाउने काम आधा मात्रै भएको छ ।
५९ सय मिटर रहेको नेपालटार–पुवामझुवा सडक निर्माणको काम ७५ प्रतिशत मात्रै सम्पन्न भएको छ । नागार्जुन विष्णु जेभीलाई निर्माणको जिम्मा दिइएको सडकको ग्याबिन लगाउने र कल्भटको काम भएपनि सबबेस लगाउने काम पूरा भएको छैन । तीन करोड ७९ लाख २२ हजार १ सय ९१ रुपैयाँमा ठेक्का दिइएको सडक इलाम नगरपालिका पर्छ ।
५ किमि लामो जितपुरबजार–साङरुम्बा–इन्टेक सडक दुई करोड ८९ लाख २२ हजार रुपैयाँमा निर्माण सम्झौता भएको थियो । तर, यो सडकमा ७० प्रतिशत मात्र काम भएको उन्नतीका भौतीक संरचना विज्ञ नारायण केसिले बताए । यो सडकको ठेक्का विरुवा भगवती जेभीले लिएको थियो ।
उपभोक्ताको काम पनि उस्तै
ठेकेदारले गरेको काममा कडा टिप्पणि गर्ने उपभोक्ता आफैले प्रयोग गर्ने सडक निर्माणको जिम्मा पाएपनि उनीहरुको कामको प्रगति पनि उस्तै छ ।
त्यसको प्रत्यक्ष उदाहरण हो, जितपुर–नवमी–अम्बोटे सडक । उपभोक्ता समितिमार्फत निर्माण थालिएको यो सडकको काम ५० प्रतिशत मात्र प्रगति भएको छ । १ करोड ९२ लाख ६१ हजार ८३ रुपैँयामा निर्माणको जिम्मा पाएको पहिलो र दोस्रो प्याकेज गरि ५ कलिमिटरे सडकको माटो काटिएर नाली, पर्खाल, कल्भर्ट बनाउने काम भएपनि र ग्राबेल बिछ्याउने काम न्युन रहेको छ ।
देउराली–फलाटे–काल्भोटे सडकको काम ६५ प्रतिशत मात्रै भएको छ । ५ किलोमिटर लामो सडकमा उपभोक्तालाई जिम्मा दिएर दुई वटा प्याकेजमा निर्माणको काम शुरु भएको थियो । गाग्रेभञ्ज्याङ–जितपुर–सिद्धिथुम्का–सोयाक सडकको पहिलो प्याकेजको काम सम्पन्न भएको छ । १२ करोड १२ लाख २३ हजार लगानीमा १६ किलोमिटर सडक निर्माण सम्पन्न भएको हो । पहिलो प्याकेजको काम सम्पन्न भएपनि दोस्रो प्याकजेको ७० प्रतिशत काम भएको छ । पाल्टागे–सिद्धिखोला सडकको ८५ प्रतिशत काम भएको छ । सो सडक विराट कुँवर जेभीले ११ करोड ५१ लाख ११ हजार ५ सय १९ रुपैयाँमा ठेक्का लिएको हो ।
सडकको ५४ करोडमा ३८ करोड खर्च
उन्नती परियोजना अन्तरगत इलामका आठ सडकमा ५४ करोड ३३ लाख ७ हजार आठ सय ६ रुपैयाँ बजेट थियो । निर्माण कम्पनी र उपभोक्ता समितिले काम नगर्र्दा ३८ करोड ८८ लाख ३३ हजार मात्रै खर्च भएको छ । तोकिएको म्यादमा निर्माणको काम नसकिँदा करिब १६ करोड बजेट खर्च भएन ।
म्याद सकिएको र सडक अलपत्र भएपछि उन्नती परियोजना र नेपाल सरकारले ाँकी काम र रकम कसरी खर्च गर्ने निर्णयमा पुग्न सकेका छैनन् । आयोजना कार्यान्वयनको जिम्मा पाएको जिल्ला प्राविधिक कार्यालय इलामका प्रमुख ओमराज ढुङ्गानाका अनुसार सडकको काम अघि बढाउने नबढाउने बारेमा दाता र नेपाल सरकारका बिच छलफल भइरहेको छ ।