रोङ(कुटिडाँडा) । रोङ गाउँपालिका–३ कुटिडाँडाकी सुस्मा राईले सानी पाथिमरा क्षेत्रमा पुजा सामाग्रीको पसल संचालन गरेको पन्ध्र वर्ष भयो । ३ वर्ष अघिसम्म उनको पुजा सामग्री बिक्रि गर्ने टहरोले घामपानी छेक्न सक्ने अवस्थामा थिएन ।
पुजा सामग्री घामपानीबाट जोगाउन नै समस्या थियो । पसल अगाडीको क्षेत्र पानी पर्दा हिलो र घाम लाग्दा धुलोले हैरान पाथ्र्यो । तर अहिले उनलाई आफ्नो सामग्री जोगाइ राख्ने चिन्ता हुँदैन र आरामले व्यापार गर्न सकेकी छन् । उनी भन्छिन्– व्यवस्थित टहरा बनाउनु अघि हामीलाई पानी पर्ने बित्तिकै त्रिपाल खोज्नुपर्ने अवस्था थियो, अहिले टरेको छ ।
व्यवस्थित रुपमा टहरा निर्माणले सुविधा थपिएका छन् र मन्दिर क्षेत्रमा पूर्वाधार सुधार गर्नुपर्ने क्षेत्रहरु अझै छन् । पूर्वाधार निर्माणपछि बेला बेला पानी जम्ने समस्या थियो हट्यो, हामीलाई गज्जव भएको छ–उनले भनिन् ।
रोङ ३ कै उमादेवी राईले सानी पाथिभरा क्षेत्रमा पुजा पसल शुरु गरेको १८ वर्ष भयो । व्यवस्थित टहरा निर्माण गर्नुअघिका दुःख उमादेवीले सुनाईन्– ‘सेउलाले छोपेर बनाएको टहरामा पानी पर्यो की त्रिपाल लगाएर व्यापार गर्दै आएका थियौँ, अहिले राम्रो सुविधा भएको छ ।’ सामानको सुरक्षाका लागि बाकस बनाएका छौँ उनले भनिन्–‘गाउँपालिकाले पुजा सामग्री रातको समयमा थन्क्याउनका लागि स्टोर निर्माण गरिदिएमा झनै सहज हुने थियो ।’
रोङ गाउँपालिका ३ कुटिडाँडाका दिनेश निरौला सानी पाथिभरा क्षेत्रमा २०६४ सालबाट व्यवसाय गर्दै आएका छन् । अव्यवस्थित रुपमा रहेका टहराहरु ३ वर्ष अघिसम्म व्यवसाय गर्न सकस भएपनि अहिले सहज भएको निरौलाले सुनाए । कोशी प्रदेश सरकार, रोङ गाउँपालिका र व्यवसायीको समन्वयमा व्यवस्थित टहराहरु निर्माण भएपछि पाथिभरा क्षेत्र सुन्दर र आकर्षक भएको छ । उनी भन्छन्–‘ काठ र बासले बनाएको टहराहरु तीन वर्ष अघिसम्म दैनिक जसो मर्मत गर्नुपथ्र्यो तर अहिले सबै दुःख हराएको छ ।’ हामीलाई व्यवसायका सामग्री सुरक्षित राख्ने ठाउँ बनाएमा अझै सहज हुन्थ्यो– उनले थपे ।
इलामको रोङ गाउँपालिकास्थित पाथिभरा मन्दिर गाउँपालिकाको स्वामित्वमा आएपछि छुट्टै व्यवस्थापन समिति गठन गरिएको छ । गाउँपालिका मातहत रहेको व्यवस्थापन समिति गठनपछि मन्दिर क्षेत्रमा भक्तजनले चढाएको भेटी र दानको आम्दानीबाट पूर्वाधार निर्माण थपिएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो सुबासले बताए । गाउँपालिकाले स्वामित्व लिएपछि हासपोखरी कुट्टीडाँडा क्षेत्र र पाथीभरा मन्दिरको संरक्षण र प्रवद्र्धनका साथै पूर्वाधार निर्माणको काम हुँदै आएको छ । मन्दिरको विकास, प्रवद्र्धन लगायतका काम गर्ने गरी जिम्मेवारी हस्तान्तरण गरिएपछि पूर्वाधार निर्माणको कामले प्राथमिकता पाएको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिए । मन्दिरको आम्दानीबाट मन्दिर क्षेत्रको विकास गर्ने योजनाका साथ काम हुँदै आएको छ उनले भने–‘हामी वर्षमा तीन लाख बढी पर्यटकहरुलाई रोङ भित्र्याउने योजना छ ।’ गुरुयोजना बनाएर पार्किङस्थल समेत निर्माणको काम अन्तिम चरणमा पुगेकाले ट्राफिक व्यवस्थापन पनि राम्रो हुनेछ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ अनुसार कार्यविधि बनाई जैविक विविधता तथा धार्मिक क्षेत्रको संरक्षण गर्ने गरी उक्त मन्दिर गाउँपालिकाको स्वामित्वमा ल्याएको थियो । पर्यटन पूवार्धार विकासले सानी पाथिभरामा दर्शन गर्न आउने पर्यटकहरुको संख्यामा वृद्धि भएको छ । नेपाल, भारत र भुटानका भक्तजन र पर्यटकको घुइचो लाग्न थालेपछि सानी पाथिभरा क्षेत्रमा गाउँपालिकाले पर्यटकीय पूर्वाधार निर्माणमा प्राथमिकता दिएपछि भक्तजनको संख्या बढेको हो ।
रोङ गाउँपालिकाको प्रमुख पर्यटक गन्तव्यमा सानी पाथिभरा पर्दछ । धार्मिक पर्यटनको प्रवद्र्धन हुँदै आएको सानी पाथिभरा पर्यटकको संख्या वृद्धि भएपछि व्यवस्थित पूर्वाधार विकासमा रोङ गाउँपालिकाले प्राथमिकता दिएको छ । वडा नम्बर ३ मा रहेको सानि पाथिभरा क्षेत्रमा गाउँपालिकाको लगानीमा अव्यवस्थित रुपमा रहेका घरटहरालाई व्यवस्थित गरिएको हो । रोङ गाउँपालिकाले पर्यटक र भक्तजनको दान र भेटिबाट संकलन हुने रकम व्यवस्थित गरि पाथिभरा क्षेत्रको पूर्वाधार विकासमा लगानी गर्दै आएको हो ।
मन्दिर क्षेत्रमा रहेका अव्यवस्थित टहराहरुलाई व्यवस्थित गर्ने काम सकिएको छ । टहरा व्यवस्थापनले अहिले पाथिभार क्षेत्र सुन्दर देखिन्छ । टहरा व्यवस्थितसँगै भुइमा पायल बिच्छ्याउने काम भएको हो । पाथिभरा मन्दिर परिसरमा भक्तजनको सुविधाका लागि शौचालय र पदमार्ग निर्माण भएका छन् ।
नेपाल, भारत र भुटानसम्मका पर्यटक र भक्तजनको आकर्षण रहेको पाथिभरा मन्दिर प्रवेशका लागि कुटिडाँडा र हाँसपोखरी प्रवेशद्धार हुन् । कुटिडाँडा क्षेत्रमा सानो बजार पनि छ । खाना, खाजा र आरामदायी बसाईको सुबिधा कुटिडाँडामा पाइन्छ ।
पाथिभरा मन्दिरको प्रवेशद्धार हाँसपोखरी क्षेत्रमा सौदर्यकरण गरिएको छ । हाँसपोखरी क्षेत्रमा अवस्थित रहेका पुजा पसललाई व्यवस्थित गर्न पक्कि टहराको निर्माण गरिएको हो । पोखरी आसपास क्षेत्रमा सौदर्यकरणको काम भएपछि अहिले आन्तरिक र बाह्य पर्यटकसँगै भक्तजन भ्रमणको गन्तव्य भएको छ ।
हाँसपोखरीबाट पाथिभरा मन्दिर क्षेत्र जोड्ने पदमार्ग पदयात्रीलाई सहज हुने गरि निर्माण गरिएको छ । हाँसपोखरी क्षेत्रमा रोङ गाउँपालिकाको पहलमा हाँसपोखरी क्षेत्रमा प्रदेश सरकारबाट पार्किङस्थल निर्माण भएपछि सवारीसाधन पार्किङमा सहज भएको हो । कुटिडाँडा क्षेत्रमा सुविधाजनक शौचालय पनि निर्माण भएकाले पर्यटकहरुलाई सुविधा थपिएको गाउँपालिका उपाध्यक्ष बिष्णुमाया भुजेलले बताइन् । उनले भनिन्–‘ अहिले पूर्वाधार थपिएकाले पाथिभरा क्षेत्रमा पर्यटक र भक्तजनहरुले राम्रो सुविधा पाएका छन् ।’
थप तस्बिरहरु :

default

default

default

default

DCIM100GOPROGOPR9907.JPG

DCIM100GOPROGOPR9908.JPG

DCIM100GOPROGOPR9910.JPG

DCIM100GOPROGOPR9929.JPG
