इलाम । इलामको सूर्योदय नगरपालिका–२ बागविरेका भेटिएको कालो चितुवा (ब्ल्याक प्यान्थर) को उद्धार गरिएको छ । स्थानीय टंक प्रसाद काफ्लेको बाख्राको खोरमा भेटिएका चितुवा करिब २ घण्टाको प्रयासबाट उद्धार गरिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी टप्पु बन्यजन्तु आरक्षका विरेन्द्र गौतमको नेतृत्वको टोलीले चितुवालाई नियन्त्रणमा लिएको हो ।
उद्धार गरिएको चितुवालाई कोशी टप्पु लगेर उपचारपछि के गर्ने भन्ने निर्णय लिइने सव डिभिजन सूर्योदयका प्रमुख रमेश भारद्धाजले जानकारी दिए । हिजो साँझ बाख्राको खोरमा पसेको चितुवाले ३ वटा बाख्रा समेत मारेको छ । स्थानीयले विहान ८ बजे खोरमा कुकुर जस्तो देखेपछि खेदाउन जाँदा चितुवाको जस्तो आकृति देखेपछि सव डिभिजनमा खबर गरेका थिए । यस्तै जन्तु केही दिन अघि सिमाना क्षेत्रमा देखिएको थियो ।
नेपाल–भारत सिमा नाकामा रहेको सो क्षेत्रमा भारतबाट आएको हुन सक्ने अनुमान गरिएको छ । भारद्धाजका अनुसार भारतीय क्षेत्रमा मात्र पाइने यस्तो चितुवा पहिलो पटक इलाममा देखिएको हो । कालो चितुवा भनिएपनि इलाममा पहिलो पटक देखिएकाले यसको प्रजाति यकिन गर्न नसकिएको उनले बताए ।
भारत तर्फ सिंहलिला राष्ट्रिय निकुञ्ज भएकोले पाइने गरेको छ । नेपाल तर्फ वन क्षेत्र विनाशका कारण चितुवा मानव वस्तीमा प्रवेश गर्न थालेका हुन् । केही दिन अघि समेत सो क्षेत्रमा २ वटा बाख्रालाई मारेको काफ्लेले बताए । कालो चितुवा सामान्य चितुवाको विशेष रूप हो । जसको छालामा अत्यधिक मेलानिन भएकाले पुरै कालो देखिन्छ ।
वैज्ञानिक नाम Panthera pardus रहेको यस जनावरलाई नेपालमा प्रायः “कालो चितुवा” भनेर चिनिन्छ । वन्यजन्तु विज्ञहरूका अनुसार नेपालमा अत्यन्त कम देखिन्छन् । कालो चितुवा प्रायः रातमा सक्रिय हुन्छ र एक्लै सिकार गर्ने बानी हुन्छ। यसको आहारमा हरिण, बाँदर, चराचुरुङ्गी लगायतका साना वन्यजन्तु पर्ने गर्छ । जंगली अवस्थामा यसको औसत आयु करिब १२ देखि १७ वर्षसम्म हुने अनुमान गरिन्छ ।
एसिया क्षेत्रमा प्यान्थर भनिने यस प्रजातिलाई अमेरिका जागुअर भनिन्छ ।