इलाम । रेडपाण्डा संरक्षणको सन्देश दिन इलाममा म्याराथन हुने भएको छ । अन्तर्राष्ट्रिय रेडपाण्डा दिवसको अवसरमा आगामी असोज ४ गते इलाम सदरमुकाम देखी जिल्लाकै अग्लो स्थान सन्दकपुर सम्म रेडपाण्डा म्याराथन हुने भएको हो । रेडपाण्डा नेटवर्क र रेडपाण्डाकै क्षेत्रका क्रियाशील दीपज्योती युवा क्लबको आयोजना सो प्रतियोगिता हुने भएको हो ।
सन्दकपुर गाउँपालिका, नेपाल प्रहरी, नेपाली सेना, पूर्वेली ट्याक्सी व्यवसायी सङ्घ, लगायतसँग सहकार्य गरिने छ । रेडपाण्डा संरक्षण, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि सो प्रतियोगिता हुने रेडपाण्डा नेटवर्कका ब्यवस्थापक सोनाम टाँसी लामाले जानकारी दिए । उनका अनुसार गएको वर्ष ताप्लेजुङमा अन्तराष्ट्रिय स्तरको प्रतियोगिता भएको थियो । यसलाई निरन्तरता दिनका लागि इलाममा प्रतियोगिता हुने भएको जनाइएको छ ।
म्याराथनका लागि ४२ किलोमिटर रुट आवश्यक हुन्छ । जसका लागि सन्दकपुर गाउँपालिकाको तीनकुनेबाट सन्दकपुर पुगेर पुन तीन कुने सम्म गर्ने वा इलाम सदरमुकाम देखी सन्दकपुरसम्म गर्ने भनेर रुट कायम हुने छ । त्यसका लागि नेपाली सेना सहितको प्राविधिक टोलीले अध्ययन गर्ने रेडपाण्डाको क्षेत्रमा क्रियाशिल दीपज्योती युवा क्लबका कार्यक्रम निर्देशक राम रिमालले जानकारी दिए ।
उनका अनुसार बर्खाको समय भएकाले सडकको अवस्था समेत सुधार गर्नु पर्ने भएकाले पहिला अध्ययन गर्ने जनाइएको छ । सन्दकपुर क्षेत्रमा पर्ने सडक मर्मतका लागि गाउँपालिकाले काम गर्ने गाउँपालिकाका अध्यक्ष तुलाराम गुरुङले बताए । सन्दकपुर क्षेत्रमा रेडपाण्डा पाइने भएकाले सो क्षेत्र छनौट गरिएको छ । इलाम सदरमुकाममा प्रतियोगिताका बिषयमा सरोकारवालाहरूसँग छलफल समेत भएको छ ।
इलाम सदरमुकामबाट सन्दकपुरसम्म गर्न सुझाव दिएका छन् । इलाम सदरमुकाममा भएको एक भेलाले इलामको ठुलो टुँडिखेल देखी सन्दकपुरसम्म सो प्रतियोगिता गर्न सुझाव दिएको हो । त्यसका लागि इलाम नगरपालिकासँग समेत छलफल गर्ने र कार्यक्रम तय गर्ने बताइएको छ ।