Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

जनयुद्ध र चेसको गहिरो सम्बन्ध छ : प्रचण्ड

जनयुद्ध र चेसको गहिरो सम्बन्ध छ : प्रचण्ड

  • सन्देश सम्वाददाता
  • बुधबार, भाद्र ११ २०८२


जनयुद्ध र चेसको गहिरो सम्बन्ध छ : प्रचण्ड

इलाम । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका क्रममा चेस खेलको विशेष महत्व रहेको बताएका छन्। अखिल नेपाल चेस संघद्वारा आयोजित भक्त राना स्मृति चेस प्रतियोगितामा प्रमुख अतिथिका रूपमा सम्वोधन गदैै भने “१० वर्षको जनयुद्धको अवधिमा हाम्रा क्रान्तिकारी योद्धाहरूले बढी खेल्ने खेल चेस नै थियो। यो खेलले बौद्धिक विकास मात्र होइन, मनोविज्ञानको उपचारमा पनि ठूलो योगदान दिएको थियो। रणमैदानमा दुश्मनसँग चलाइने चाल जस्तै चेसमा पनि रणनीतिक चाल चलिन्थ्यो।”

प्रचण्डले मगरलाई क्रान्तिकारी, इमान्दार र निष्ठावान योद्धाको रूपमा स्मरण गर्दै उनको त्याग र बलिदान सदैव नेपाली जनताको स्मृतिमा रहने बताए। “भक्त राना मगर युद्धमा नै घाइते हुनुभयो, उपचारकै क्रममा वीर अस्पतालमा उहाँको निधन भयो। उहाँको स्मृति हामी सबैको मनमा ताजा छ।”

प्रचण्डले चेस प्रतियोगिता राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउने अवसर भएको उल्लेख गर्दै अखिल नेपाल चेस संघलाई धन्यवाद दिए उनले खेलाडीहरूको उत्साहपूर्ण सहभागिता सराहना गर्दै आयोजकहरूको सम्भावित समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । दुई लाख चार हजार रुपिया पुरस्कारको लागि करिब दुई सय ५० खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

माओवादी केन्द्रनिकट अखिल नेपाल चेस संघ (एन्का) ले पूर्वछापामार भक्त रानाको स्मृतिमा फिडे रेटिङ १९०० मुनिका खेलाडी सहभागि हुने गरी प्रतियोगिता आयोजना गरेको हो । काभ्रेका रानाको निधन २०८१ साल भाद्र ११ गते भएको थियो । दस मिनेट र इन्क्रिमेन्ट १० सेकेन्डको र्यापिड चेसमा विजेताले ३० हजार, उपविजेताले २० हजार, तेस्रो हुनेले १५ हजार, चौथोले १० हजार, पाँचौंले ८ हजार र शीर्ष दसमा अटाउनेले जनही ६ हजार रुपैयाँ पाउनेछन् ।

महिला, अनरेटेड, यू ८, यू १०, यू १२, यू १४, यू १६, यू १८, सातै प्रदेशका उत्कृष्ट खेलाडी, रेटिङ १८०० मुनि र १७०० मुनिका उत्कृष्ट गरी ३२ खेलाडी नगद पुरस्कारका हकदार हुनेछन् । एन्काले गत वर्ष फिडेमास्टर (एफएम) सुजेन्द्र श्रेष्ठ स्मृति भेट्रान चेस प्रतियोगिता आयोजना गरेको थियो, जहाँ सातै प्रदेशमा छनोट प्रतियोगिता आयोजना गरेपछि राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार