इलाम । एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा एपीएफ क्लब र उजबेकिस्तानको पिएफसी नासाफ आज प्रतिस्पर्धा गर्दैछन् । समूह ‘बी’ अन्तर्गत हुने खेल मार्काजी रंगशाला उज्वेकिस्तानमा नेपाली समयअनुसार बेलुकी ९ः१५ बजे सुरु हुनेछ । उज्वेक टोली विरुद्ध एपिएफलाई गत बर्षको पराजयको बदला लिने अवसर बन्नेछ । दुवै टोलीबीच अहिलेसम्म एक पटक प्रतिस्पर्धा भएको छ ।
२०२४ अगस्ट २५ मा भएको खेलमा नासाफले एपीएफलाई १–० ले पराजित गरेको थियो । खेलको ४९ औँ मिनेटमा नासाफकी लिली निबर–लरेन्सले गरेको गोल निर्णायक बनेको थियो । समुह सी मा गत संस्करणमा नासाफ विरुद्ध १–० ले पराजित रहेको एपिएफले सवाह फुटबल एसोसिएसन मलेसिया विरुद्ध गोलरहित बराबरी खेलेको थियो । सो समुहबाट सवाहले एएफसी महिला च्याम्पियन्स लिग खेलेको थियो ।
घरेलु लिगमा एपीएफले सानदार प्रदर्शन गर्दै पछिल्लो सिजनमा अपराजित रुपमा उपाधि जितेको थियो । १८ खेल जित र १ बराबरीसहित शीर्ष स्थानमा रहँदै एपीएफले एन्फा महिला लिग जितेको हो । यही प्रदर्शनलाई आधार बनाएर टोलीले अन्तर्राष्ट्रिय स्तरमा पनि बलियो प्रतिद्वन्द्वी बन्ने आत्मविश्वास लिएको छ । उज्वेकिस्तानमा उपाधिको दाबेबारी प्रस्तुत गर्न एपिएफले नेपाल पुलिसकी समिक्षा घिमिरे र त्रिभुवन आर्मीकी विमला विकलाई टिममा भित्र्याएको छ ।

एपिएफको टिममा गत संस्करणमा समेत खेलेका गोलरक्षक एन्जिला तुम्बापो सुब्बा र हिराकुमारी भुजेल हुनेछन् । हिरा इन्जुरीबाट फर्किएकी छन् । एन्जिला ग्रिक क्लबबाट टर्किस क्लब जाने चर्चा चले पनि हालसम्म आधिकारिक रुपमा सार्वजनिक भएको छैन् । जोर्डनको क्लबमा अनुबन्ध भएको कारण प्रिति राई एपिएफको टिममा हुनेछैनन् । तर उनी आवद्ध टिम क्लब इतिहादले आज नै लायन सिटी सिंगापुरसंग खेल्नेछ ।
प्रतियोगिताको लागि प्रशिक्षकको रुपमा पुलिसबाट चेतन घिमिरेलाई भित्र्याएको छ । एपिएफमा गत जुनमा सम्पन्न एएफसी एसियन कप क्वालिफायरमा सहभागी राष्ट्रिय टिमका १५ जना खेलाडीहरु समावेश छन् । टिममा केही पूर्व राष्ट्रिय खेलाडी र उमेर समुहका खेलाडीहरु समेत समावेश छन् । एपीएफका प्रशिक्षक चेतन घिमिरेले खेलअघि प्रतिक्रिया दिँदै टोलीले अघिल्लो हार दोहोर्याउन नदिने दाबी गरेका छन् ।
“ एएफसी महिला च्याम्पियन्स लिगमा हाम्रो दोश्रो सहभागिता हो । हामी दोस्रो चरणमा क्वालिफाई गर्न आएका हौं । मैले हेर्दा २–३ क्लबहरू बलिया देखिन्छन् । तर हामी पनि अहिले धेरै बलिया भएका छौं। आशा छ हामी नतिजाका लागि लड्नेछौं र राम्रो फुटबल खेल्नेछौं। हाम्रो नेपालमा महिला फुटबलको विकास दिन प्रतिदिन माथि उठ्दै गएको छ ।”
समूह ‘बी’ अन्तर्गत नासाफ, एपीएफ र कलेज अफ एसियन स्कुल थाइल्याण्ड बिच प्रतिस्पर्धा हुँदैछ । समूह विजेता टोली प्रतियोगिताको समुह चरणमा प्रवेश गर्नेछ ।